सिमरा खानेपानी निर्वाचनः दलिय समर्थनमा दुई प्यानलको उम्मेदवारी


eShilalekh

१३ फाल्गुन २०७८, शुक्रबार २१:१२

सिमरा: खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा दुई वटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । फाल्गुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा दलिय समर्थनसहित कासिम हुसेन र राजकुमार भट्टराई नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गराएका हुन् ।

हुसेन नेतृत्वको प्यानललाई नेकपा एमाले र भट्टराई नेतृत्वको प्यानललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीको समर्थन रहेको छ ।

हुसेन नेतृत्वको प्यानलको उपाध्यक्षमा शशीकुमार गौतम, सचिव जयकिशोर राउत, सहसचिव सानोबाबु कुर्मी र कोषाध्यक्ष लोकराज पौडेल रहेका छन् । यसैगरी खुल्ला सदस्यमा मुमनाथ शर्मा, प्रकाश बहादुर क्षेत्री, तोयानाथ लुईटेल र राजकुमार बर्तौला उम्मेदवार बनेका छन् । महिला सदस्यमा निर्मला केसी र शुभद्रा कुमारीले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी भट्टराई नेतृत्वको प्यानलबाट उपाध्यक्षमा पूर्णचन्द्र तिमिल्सिना, सचिवमा राजेन्द्र सुवेदी, सहसचिव रुद्रनाथ शर्मा र कोषाध्यक्षमा दिलुमाया श्रेष्ठ रहेका छन् । भट्टराई नेतृत्वको प्यानलबाट चार जना खुल्ला सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्यका लागि शिवचन्द्र चौधरी, रामबहादुर लामा, दधिर प्याकुरेल, रामकुमार भट्टराई, रामकृष्ण तिमिल्सिनाले उम्मेदवारी दिएका हुन् ।

यसैगरी दुई जना महिला सदस्यका लागि हुने निर्वाचनमा भट्टराई नेतृत्वको प्यानलबाट एक जनाको मात्रै उम्मेदवारी परेको छ । महिला सदस्यका लागि सञ्चमाया श्रेष्ठले उम्मेदवारी दिएकी हुन् ।

निर्वाचनबाट पाँच पदाधिकारी, चार खुल्ला सदस्य र दुई महिला सदस्य गरी ११ जना निर्वाचित हुनेछन् । नेतृत्वका लागि उम्मेदवारी दिएका उम्मेदवारलाई निर्वाचन कमिटीले शनिवार चुनाव चिन्ह प्रदान गर्ने प्रमुख निर्वाचन अधिकृत मदनबहादुर क्षेत्रीले जानकारी दिए ।

फाल्गुन २१ गते सिमरास्थित खानेपानी उपभोक्ता तथा सरसफाई समितिको कार्यालयमा हुने निर्वाचनमा तीन हजार दुई सय २७ मतदाता सहभागी हुनेछन् । निर्वाचन प्रक्रियाबाट निर्वाचित हुने समितिले आगामी चार वर्ष सिमरा खानेपानीको नेतृत्व गर्नेछ ।

अध्यक्ष पदका उम्मेदवार हुसेनले चौथो पटक नेतृत्वका लागि उम्मेदवारी दिएका छन् । यसअघि उनले तीन कार्यकाल अध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । अघिल्लो निर्वाचनमा हुसेन स्वतन्त्र उम्मेदवार बन्दै तेस्रो पटक निर्वाचित भएका थिए । यसपटक हुसेन एमालेको समर्थनमा उम्मेदवार बनेका हुन् ।

यसैगरी अध्यक्ष पदमा उम्मेदवारी दिएका गणेशबहादुर लिम्बु र सचिव पदमा उम्मेदवारी दिएका रत्नप्रसाद उप्रेतीले आफ्नो नाम फिर्ता लिएका छन् । उनिहरुले नाम फिर्ता लिएसंगै दुई वटा प्यानलमात्रै चुनावी मैदानमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्