जीतपुरसिमरा १४ मा ‘लैंगिक हिंसा र कानुनी उपचार’ विषयक अन्तर्क्रिया सम्पन्न


eShilalekh

२१ मंसिर २०८१, शुक्रबार २१:१३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ को कार्यालयले शुक्रवार लैंगिक हिंसा र कानुनी उपचार विषयक अन्तर्क्रियाको आयोजना गरेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत वडाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा पूर्वमन्त्री पुरुषोत्तम पौडेल, नेकपा एमाले मधेश प्रदेश कमिटी सचिव मनोज पौडेल, नेकपा माओवादी केन्द्रकी केन्द्रीय कमिटी सदस्य गीता कंडेल, अधिवक्ता हरेराम सर्राफ, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहाल, जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका सदस्य पवित्रामाया कार्की, न्यायीक समितिकी सदस्य सीता उप्रेतीलगायत उपस्थित थिए ।

हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान भन्ने नाराका साथ ३३औं अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा पनि संचालन भईरहेको छ । अभियानका क्रममा जनचेतना फैलाउने, नीति निर्माणमा दवाव दिने, समुदायलाई क्रियाशिल बनाउने, पीडितको सहारा बन्नेलगायतको गतिविधि संचालन गरिन्छ ।

सोही कार्यक्रम अन्तर्गत वडा नं. १४ को कार्यालयले चेतनामुलक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पूर्वमन्त्रीसहितका वक्ताले महिला, पुरुष, बालबालिका, लैंगिक अल्पसंख्यकमाथि हुने हिंसा र त्यसको न्युनिकरणका लागि अबलम्बन गर्न सकिने बाटो तथा कानुनी उपचारका विषयमा चर्चा गरेका थिए ।

वक्ताले विद्यालय तहमा लैंगिक समानताको शिक्षा प्रदान गर्न, वडा तथा नगरमा महिला समूहलाई सशक्त बनाउन, पीडितको आवाज उजागर गर्न, स्थानीय सरकारले कार्यालयमा लैंगिक हिंसा न्युनिकरण लक्षित डेक्स स्थापना गर्नलगायतको सुझाव दिएका थिए ।

यसैगरी अधिवक्ता सर्राफले कानुनी प्रक्रिया र प्रहरी नायब उपरीक्षक दाहालले पीडितलाई न्याय दिलाउन प्रहरीले खेल्ने भूमिकाको विषयमा चर्चा गरेका थिए । वडाध्यक्ष चयन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयौको संख्यामा महिलाहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्