मनहरीमा स्कार्पियो दुर्घटना हुँदा बाराका ४ जना घाइते

सिमराः मकवानपुरको मनहरीमा स्कर्पियो दुर्घटना हुँदा बाराका ४ जना घाईते भएका छन् ।
घाईते हुनेमा निजगढ नगरपालिका–७ का स्कर्पियो चालक अन्दाजी ४५ वर्षिय धनबहादुर स्याङतान, निजकी श्रीमती ३८ वर्षिय हरिमाया लामा, उनिहरुका १३ वर्षिय छोरा यरोश तामाङ र सोहि स्थानका अन्दाजी ३३ वर्षिय सबु लामा रहेका छन् । उनिहरुको अनुहार, टाउको र छात्तिमा चोट लागेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार सोमवार बिहान साँढे ५ बजे निजगढबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च ६८६२ नम्बरको स्कर्पियो कार मनहरी गाउँपालिका–९ खरङ्गा स्थित पुर्व पश्चिम सडक खण्डमा आफैं अनियन्त्रित भई सडकको बायाँ पट्टी रहेको विद्युतको पोलमा ठक्कर लागी सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।
चालक धनबहादुर र श्रीमती हरिमायाको अवस्था सामान्य र अन्य २ को अवस्था मध्यम रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
घाईतेहरुको मनहरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर अस्पताल पठाईएको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।