जनकपुरमा एक पुरुषको शव फेला

सिमराः धनुषाको जनकपुरमा एक पुरुषको शव फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका ४ मुरलीचोकस्थित दुर्गामन्दिर परिसरमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको हो ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार आज बिहान साढे ६ बजेतिर प्रहरीले मन्दिर परिसरमा शव रहेको जानकारी पाएको थियो ।
घटनास्थलको प्रकृति हेर्दा बादविवाद पश्चात ईंटा प्रहार गरी हत्या गरेको जस्तो देखिएको प्रहरीको भनाई छ । घटनास्थलमा रक्सीका बोतल पनि देखिएको छ । शवको पहिचान भने भइसकेको छैन ।
घटना हिजो साँझ वा रातिको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । घटना थप अनुसन्धान भईरहेको छ ।