बहुदरमाई नगरपालिकाको कार्यालयमा विद्यार्थीद्वारा तोडफोड तथा आगजनी

सिमराः पर्साको बहुदरमाई नगरपालिकामा शुक्रबार विहान विद्यार्थीले तोडफोड तथा आगजनी गरेका छन् । लामो समयदेखि शिक्षकले तलब नपाउँदा पठनपाठन अस्तव्यस्त बनेको भन्दै विद्यार्थीले कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् ।
उनिहरुले कार्यालयको ताला तोडेर कुर्सी र टेबल बाहिर सडकमा ल्याई आगजनी गरेका छन् । साउन यता बहुदरमाई नगरपालिका मातहत रहेका सामुदायिक विद्यालयका शिक्षकले तलब पाएका छैनन् । गत कात्तिक ८ मा नगरसभा सम्पन्न भएपनि नगरप्रमुखले बजेट खर्चको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई नदिएकाले बजेट निकासा हुन नसकेको बताइएको छ ।
बहुदरमाई नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्धारित समयभन्दा झन्डै चार महिना पछि गत कात्तिक ८ गते ११ औँ नगरसभामा प्रस्तुत भएको थियो । तर नगरसभा सम्पन्न भएको करिब दुई महिना पुग्न लाग्दा पनि मेयरले बजेट खर्चको अख्तियारी दिएका छैनन् ।