बडहर्वामा मौवादेवी कृषि सांस्कृतिक तथा पर्यटन व्यापार महोत्सव हुने


eShilalekh

१२ पुष २०८१, शुक्रबार १८:२०

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वामा मौवादेवी कृषि सांस्कृतिक तथा पर्यटन व्यापार महोत्सव हुने भएको छ । ‘पर्यटन कृषि र प्राकृतिक सौन्दर्यको सहर, समृद्ध सांस्कृतिक जीतपुरसिमरा नगर’ भन्ने नाराका साथ पुष २५ गतेदेखि माघ ७ गतेसम्म महोत्सव हुन लागेको हो ।

श्री मौवादेवी युवा क्लबको आयोजना तथा लालिगुराँस क्रेयचन मिडिया नेपालको व्यवस्थापनमा पहिलो पटक बडहर्वामा महोत्सव गर्न लागिएको हो । महोत्सवले बडहर्वालाई राष्ट्रिय स्तरमा चिनाउनुका साथै स्थानीय स्तरको कृषि, उद्यम, कला, संस्कृति, पर्यटन, खेलकुदको प्रवर्द्धन गर्ने अपेक्षा आफूहरुले राखेको मौवादेवी युवा क्लबका अध्यक्ष निर्मल यादवले जानकारी दिए ।

मौवादेवी क्लबको खेल मैदानमा आयोजना हुने महोत्सवमा स्थानीय स्तरका व्यापार, व्यवसाय, कृषि, उद्यमका साथै विभिन्न समुदायको खानाको परिकारलाई प्रवर्द्धन गर्न करिब एक सय वटा स्टल राखिने भएको छ । महोत्सवमा बालबालिकाका लागि बालउद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुति रहनेछ ।

१२ दिनसम्म आयोजना हुने महोत्सवमा स्थानीय कला र संस्कृतिलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्ने लक्ष्य आयोजकले लिएको छ । यसैगरी महोत्सवमा प्रिति पासवान, राजा भोजपुरिया, अनु चौधरी, अन्जु कुश्मी, मिस्टर डी, एलिना चौहान, ज्योति मगर, दुर्गेश थापा, उर्गेन दोङ, बिशाल काल्ताङ, जीतु लोप्चनलगायतका राष्ट्रिय स्तरमा चलेका कलाकारको उपस्थिती रहने क्रेयचन मिडिया नेपालका अध्यक्ष बिन्दास इन्द्रले जानकारी दिए ।

महोत्सवमा राखिने स्टलको मूल्य र प्रवेश शुल्क भने निर्धारण हुन बाँकी छ । महोत्सव आयोजक र व्यवस्थापन पक्षले मूल्य निर्धारण गर्ने अध्यक्ष इन्द्रले बताएका छन् ।

गाउँमा पहिलो पटक महोत्सव आयोजना हुने भएपछि आफूहरु उत्साहित रहेको मौवादेवी युवा क्लबका पूर्वअध्यक्ष बसन्त खतिवडाले बताए । महोत्सवको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मलेनमा बोल्दै खतिवडाले व्यवस्थित र भव्यरुपमा सम्पन्न गर्ने गरी आफूहरुले तयारी गर्ने बताए ।

महोत्सवको सम्पूर्ण आर्थिक व्यवस्थापन क्रेयचन मिडिया नेपालले गर्नेछ । क्रेयचनले मौवादेवी युवा क्लबलाई आर्थिक रुपमा सहयोग समेत गर्नेछ भने मौवादेवी खेल मैदान मर्मत र स्तरोन्नतिका कार्य गर्नेछ ।

यसैगरी महोत्सवकै क्रममा स्थानीय तरकारीसहितका अन्य बालिलाई प्रवर्द्धन गर्ने उदेश्यले बडहर्वामा बजार लगाउने तयारी गरिएको छ । तत्कालका लागि बडहर्वा चोकमा बजारको सुरुवात गरिने र त्यसलाई व्यवस्थित गर्दै लैजाने सेतीदेवी टोल विकास समितिका अध्यक्ष बिमल राज भारतीले जानकारी दिए ।

मौवादेवी युवा क्लबका अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा क्रेयचन मिडिया नेपालका नारायण राजथला, नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा, जीतपुरसिमरा १८ की वडासचिव सीमा उप्रेतीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण मुकुन्द्रप्रसाद सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्