महोत्तरीमा तीन छात्राद्वारा विष सेवन, एकको मृत्यु


eShilalekh

१७ पुष २०८१, बुधबार १३:३३

सिमराः परीक्षा बिग्रिएपछि महोत्तरीमा ३ जना छात्राले विष सेवन गर्दा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा धनगढीमाई नगरपालिका १० की १७ वर्षीय रिंकु शर्मा रहेकी छिन् ।

बर्दिबास नगरपालिका १० खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत रिंकु शर्मा, उषा पण्डित र सन्जु यादवले विष सेवन गरेका थिए । जसमध्ये शर्माको मृत्यु भएको छ भने उषा र सन्जुको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अचेत अवस्थामा रहेको शर्मालाई मंगलबार बिहान इलाका प्रहरी कार्यालय बर्दिबासले जंगली क्षेत्रबाट उद्धार गरी बर्दिबास अस्पताल पु‍र्याएको थियो । उनको बाटोमै मृत्यु भइसकेको अस्पताल स्रोतले जनाएको छ ।

तीनै जना जियोमेट्री विषयको प्रथम वर्षका छात्रा हुन् । शिक्षालयले केही दिनअघि लिएको टेस्ट (परीक्षा) मा मृतक रिंकुको फिजिक्सको पेपर बिग्रिएको थियो । मानसिक तनावका कारण उनले विष सेवन गरेको अस्पतालमा उपचाररत सन्जुले बताइन् ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी सन्तुलाल प्रसाद जयसवारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्