जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा नगर प्रहरीका विभिन्न पदका लागि दरखास्त आह्वान


eShilalekh

१९ पुष २०८१, शुक्रबार १४:५३

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगर प्रहरीका विभिन्न पदका लागि पुनः दरखास्त आह्वान गरेको छ ।
उपमहानगरपालिकाले नगर प्रहरी निरीक्षक, सहायक निरीक्षक, जवान र हलुका सवारी चालक पदकालागि दरखास्त आह्वान गरेको हो ।

नगर प्रहरी ऐन २०७९ को दफा १० अनुसार नगर प्रहरी निरीक्षक पदमा स्नातक तह वा सो सरहको योग्यता तोकिएको छ ।यसैगरी सहायक निरीक्षक पदका लागि न्यूनतम प्रवीणता प्रमाणपत्र तह वा सो सरहको योग्यता आवश्यक छ भने जवान पदका लागि १० कक्षा पास वा सो सरहको योग्यता तोकिएको छ ।

नगर प्रहरी निरीक्षक पदका लागि २१ देखि ३० वर्ष उमेरका व्यक्तिले आवेदन दिन सक्नेछन् । सुरक्षा निकायमा कार्यरत वा अवकाश प्राप्त व्यक्तिका लागि उमेर सीमा ४५ वर्षसम्म बढाइएको छ । यसैगरी सहायक निरीक्षक पदका लागि १८ देखि २८ वर्ष उमेरका नागरिकले आवेदन दिन सक्नेछन् भने सुरक्षा निकायमा कार्यरत वा अवकाश प्राप्त व्यक्तिका लागि उमेर सीमा ४३ वर्षसम्म छ ।

जवान पदका लागि १८ देखि २५ वर्ष उमेरका व्यक्तिले आवेदन दिन सक्नेछन् । सुरक्षा निकायका अनुभवी आवेदकका लागि ४१ वर्षसम्मको उमेर सीमा तोकिएको छ ।

नगर प्रहरी निरीक्षक १, सहायक निरीक्षक २, जवान २२ जना र हलुका सवारी चालक पदकालागि १ जनाको माग गरिएको छ । जवान पदका लागि समावेशी प्रावधान अन्तर्गत खुला १३, महिला ३, आदिवासी र जनजाति ३, मधेसी २ र दलित १ जनाका लागि छुट्ट्याइएको छ ।

यसैगरी नगर प्रहरी निरीक्षक पदका लागि एक हजार रुपैयाँ, सहायक निरीक्षक पदका लागि सात सय रुपैयाँ, जवान तथा सवारी चालक पदका लागि पाँच रुपैयाँ दरखास्त शुल्क तोकिएको छ ।

इच्छुक व्यक्तिले २०८१ साल माघ ४ गतेभित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । यसअघि २०८० साल फागुन १४ गते सहायक निरीक्षकसहित १३ जना प्रहरी जवानका लागि आवेदन आह्वान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्