सर्लाहिमा इँटा व्यवसायी प्रसाईंको शव गाडेको अवस्थामा फेला

सर्लाहीः सर्लाहीको हरिवनमा केहि समयदेखि बेपत्ता रहेका एक पुरुषको शव शनिबार फेला परेको छ ।
हरिवन नगरपालिका १० का ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरेर उखुबारीमा गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
प्रसाईंले इँटाभट्टा सञ्चालन गर्दै आएका थिए । उनि पुस १५ गतेदेखि बेपत्ता भएका थिए । परिवारजनले पुस १६ गते बिहान इलाका प्रहरी कार्यालय हरिवनमा निवेदन दर्ता गराएका प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
खोजतलासको क्रममा प्रसाईंले लगाएको जुत्ता, वडाको नहरछेउमा मोटरसाइकल र च्यातिएको फोटो फेला परेपछि खोजी तीव्र पारिएको थियो ।
प्रहरीका अनुसार प्रादेशिक अस्पतालका चिकित्सक र जिल्लाका सुरक्षा अधिकारी, सरकारी वकिल समेतको उपस्थितिमा खाल्डो खनेर शव निकालिएको हो ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । अनुसन्धान कार्यमा बाधा पुग्ने भन्दै उनीहरूको पहिचान भने गोप्य राखिएको प्रहरीले जनाएको छ ।