जेष्ठ नागरिकसहित विभिन्न क्षेत्रका महिलालाई उपमहानगरको सम्मान


eShilalekh

२५ फाल्गुन २०७८, बुधबार ००:२७

सिमरा: ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले जेष्ठ नागरिकसहित सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने महिलाहरुलाई सम्मान गरेको छ । उपमहानगरपालिकाको कार्यालयमा मंगलवार आयोजित कार्यक्रमकाबीच ८५ वर्ष नाघेका जेष्ठ नागरिकसहित एकल महिला, उद्यमी महिला, संचारकर्मी, स्वास्थ्यकर्मी, प्रहरीलाई सम्मान गरिएको हो ।

उपमहानगरपालिकाको २४ वटै वडाभित्र रहेका एक सय ३६ जना जेष्ठ नागरिक महिलालाई हर्लिक्स, टर्चलाईट, छातासहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो । उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, उपप्रमुख सरस्वती देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेललगायतले सम्मान गरेका थिए ।

यसैगरी उद्यम गरी जिविकोपार्जन गर्दै आएका उद्यमी महिला, सहकारी, पत्रकारिता, सुरक्षाको क्षेत्रबाट समाजमा योगदान पुर्‍याएका महिला, एकल महिलालाई उपमहानगरपालिकाले दोसल्ला ओढाएर सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख डा. पौडेलले आर्थिक सामाजिक रुपान्तरणमा महिलाको भूमिका अहम रहेको भन्दै प्रशंसा गरे ।

राज्यको विभिन्न तहको नेतृत्वका साथै निति निर्माणमा महिलाको भूमिका सशक्त हुदै गएको भन्दै डा. पौडेलले मुलुक परिवर्तनका लागि महिलाको भूमिका प्रभावकारी रहेको बताए । प्रमुख डा. पौडेलले देशको हरेक क्षेत्र, वर्ग, समुदायका महिलाहरु सामाजिक अगुवाका रुपमा अघि बढ्न जरुरी रहेको र त्यसका लागि महिला सशक्तिकरण, क्षमता अभिबृद्धिलगायत गतिविधिमा महिलाको सक्रियता अनिवार्य रहेको बताए ।

कार्यक्रममा उपप्रमुख चौधरीले महिला दिवसका अवसरमा विभिन्न क्षेत्रमा रहेर समाजप्रति योगदान गर्दै आएका महिला र जेष्ठ नागरिकलाई सम्मान गरिएको बताईन् । यस्तो कार्यक्रमले महिलालाई सामाजिक क्षेत्रमा अघि बढ्न उत्साह र उर्जा थपिनेमा आफू विश्वस्त रहेको उपप्रमुख चौधरीको भनाई थियो ।

सम्मान कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले महिलालाई अघि बढाउनका लागि समाजको हरेक वर्ग र क्षेत्रको भूमिका अहम हुनुपर्ने बताए । महिलाहरुलाई घरबाहिर निस्किएर काम गर्न सक्ने वातावरण बनाउनुका साथै महिलामैत्री कार्यस्थल, समाज निर्माण गर्ने दायित्व सबैको रहेको पोखरेलको भनाई थियो ।

कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व तहमा पुगेका महिला समाजसेवी निरु रायमाझी, कोपिला सिंखडा, कमला घिमिरे, चयन मगर, सिता सुवेदी, मिरा पुरी, देवी सापकोटा, आशा दाहााल, राधादेवी साह, चित्रलेखा चौधरी, चन्दाकुमारी साहलगायतले मन्तब्य राख्दै उपमहानगरपालिकाले गरेको सम्मान कार्यक्रमको प्रशंसा गरेका थिए ।
उपप्रमुख चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अधिकृत दुर्गा न्यौपानेले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्