‘हिंसामुक्त कार्यस्थल निर्माणमा सामाजिक प्रतिबद्धता आवश्यक’


eShilalekh

२५ फाल्गुन २०७८, बुधबार १५:५७

सिमरा: लैंगिक समानता र हिंसा न्युनिकरणका लागि सरोकारवाला निकाय मात्र नभई समाजको हरेक क्षेत्र, वर्ग र समुदायको भूमिका अहम रहेको वक्ताहरुले बताएका छन् । संचार हब प्रालिको संयोजनमा मिडिया एडभोकेसी ग्रुप (म्याग) र सोलिडारिटी सेन्टरले बुधवार सिमरामा आयोजना गरेको ‘महिलाको सफलताका लागि हिंसामुक्त कार्यस्थलको आवश्यकता’ विषयक अन्तरसंवाद कार्यक्रमका सहभागीले हिंसा न्युनिकरणका लागि सामाजिक प्रतिबद्धता अपरिहार्य रहेकोमा जोड दिए ।

जिल्लाका विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागिता जनाएका महिलाले सार्वजनिक क्षेत्रसहित, कार्यस्थल र घरमा व्यहोर्नुपरेको हिंसा र त्यसको न्युनिकरणका विषयमा चर्चा गरेका थिए । हिंसामुक्त समाज र कार्यस्थल निर्माण नभएसम्म सामाजिक सुशासनको कल्पना गर्न नसकिने भन्दै सहभागीले घरघरबाट हिंसाविरुद्धको अभियान सुरु गर्न आवश्यक रहेको बताए ।

कानुनले हिंसालाई बर्जित गरेपनि समाजमा हिंसाका घटना न्युनिकरण नहुनुले समाज हिंसा नियन्त्रण र न्युनिकरणमा उत्तरदायी नदेखिएको पुष्टि हुने सहभागीको भनाई थियो । उनिहरुले राज्यका विभिन्न तहले हिंसाविरुद्ध अभियान संचालन गरिरहेको र प्रहरीले पीडकलाई कानुनी दायरामा ल्याइरहेको अवस्थामा हिंसा नियन्त्रण नहुनुले पनि समाज अझ बढी जिम्मेवार हुन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा महिला सरोकार मञ्चकी अध्यक्ष देवी सापकोटाले क्षमता अनुसारको अवसर नदिनु पनि हिंसा भएको बताईन् । समाजले महिलाको क्षमता स्विकार गर्न नसकेकोमा आफू दुखित रहेको भन्दै सापकोटाले महिलालाई अवसर दिएर अघि बढाउनुपर्ने बताएकी थिईन् । यौनजन्य घटनालाई मात्रै हिंसाका रुपमा बुझ्न नहुने भन्दै सापकोटाले अवसरबाट बञ्चित गरेर मानसिक हिंसाको शिकार नबनाउन आग्रह गरिन् ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी भएकी रिना बजगाईले प्रलोभनमा पारेर हिंसाजन्य घटना हुनेगरेको भन्दै त्यसका लागी महिला आफै सचेत हुनुपर्ने बताईन् । सुरक्षित, हिंसामुक्त र महिलामैत्री कार्यस्थल निर्माण नभएसम्म हिंसाको घटनामा न्युनिकरण नआउने नहुने बजगाईको भनाई थियो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाकी नगर उपप्रमुख सरस्वतीदेवी चौधरी, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख मोहनप्रसाद अर्याल, प्रेरणा काठमाण्डौकी प्रतिनिधि निर्मा चौधरी, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक निरिक्षक सुभद्रा सुनार, अधिवक्ता दामोदर पौडेलले सहभागीको जिज्ञासालाई सम्बोधन गरेका थिए । उपमहानगरपालिकाकी नगर उपप्रमुख चौधरीले हिंसामुक्त कार्यस्थल निर्माणका लागि सबैभन्दा पहिला महिलालाई गरिने सम्मानलाई प्राथमिकतामा राख्न जरुरी रहेको बताईन् ।

महिलाले हरेक क्षेत्रमा प्रतिनिधित्व गर्न पाउनुपर्ने, महिलालाई अवसर दिनुपर्ने, निति निर्माण तहमा महिलाको उपस्थितीलगायत सामाजिक गतिविधिमा महिलाको सहभागिता अनिवार्यजस्तै हुनुपर्ने उपप्रमुखको भनाई थियो । त्यसका लागि महिला पनि सक्रिय रुपमा अघि बढ्न जरुरी रहेको उपप्रमुख चौधरीले बताएकी छिन् ।

कार्यक्रममा सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अनिता लम्साल अधिकारी, मानव अधिकारका लागि एकल महिला बाराकी अध्यक्ष मिरा पुरी, संचार हब प्रालिका अध्यक्ष दिवाकर भण्डारी, श्रमिक महिला प्रतिनिधि तारा पौडेल, रञ्जिता बस्नेत, राधिका खतिवडा, नेपाल अपांग सेवा संघ बाराकी चन्दाकुमारी साह, अधिकारकर्मी विदुर खड्का, सिमरा ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक अमृत मैनाली, प्रहरी हवल्दार तेजकुमार मिश्र, जीतपुरसिमरा उमपहानगरपालिकाको महिला बालबालिका शाखाकी कर्मचारी नितु साह, जिल्ला ट्राफिक प्रहरी कार्यालयकी स्वस्तिका सुवेदी, करुणा तामाङ, होटल तथा पर्यटन व्यवसायी संघ बाराकी प्रतिनिधि कल्याणी गौतम, मिरा थापालगायत विद्यार्थी, संचारकर्मी, स्वास्थ्यकर्मीलगायत विभिन्न संघसंस्थाको महिला प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसअघि मिडिया एडभोकेसी ग्रुप (म्याग) का प्रतिनिधि निलिसा बर्माले कार्यक्रमको उदेश्यबारे प्रकाश पारेकी थिईन् । कार्यक्रमको सहजीकरण संचार हब प्रालिका प्रतिनिधि श्रीराम रेग्मीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्