जीतपुरसिमरा र परवानीपुरमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु


eShilalekh

७ जेष्ठ २०८२, बुधबार १८:१८

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका र परवानीपुर गाउँपालिकाको आयोजनामा बुधबारदेखि सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सात दिने सचेतना सप्ताह सुरु भएको हो ।

दुर्घटना न्युनिकरण, सडक तथा सवारी व्यवस्थापन, ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उदेश्यले अभियान सुरु गरिएको हो । जीतपुरसिमराको चुरियामाईदेखि परवानीपुरसम्म अभियान संचालन हुनेछ ।

अभियानका क्रममा ट्राफिक नियम र सडक सुरक्षा सम्बन्धी बोर्ड जडान गर्ने, सचेतनामुलक स्टिकर टास्ने, ट्राफिक स्वयंसेवक परिचालन गरिने, चालक र सहचालकको स्वास्थ्य परिक्षण गरिने, रक्तदान कार्यक्रम, चालकसंग सडकमै अन्तक्र्रिया, पैदल यात्रुलाई सचेतना कार्यक्रम, पर्चापम्प्लेट वितरण, सवारीको यान्त्रिक परिक्षण तथा सवारी अनुगमन, सडक नाटकलगायतको कार्यक्रम रहेको छ ।

अभियानकै क्रममा पथलैयादेखि परवानीपुरसम्म ६ लेनको व्यापारिक मार्गको सर्भिस लेन खाली गराइने भएको छ । सर्भिस लेनमा राखिएको बजार, टहरा, पार्किङ पूर्णरुपमा निषेध गर्ने गरी अभियान थालिएको कार्यक्रमका वक्ताले बताएका छन् ।
दुई स्थानीय तहसहित सरोकारवाला निकायको समन्वयमा हुन लागेको अभियानलाई प्रभावकारी ढंगले अघि बढाउन उद्घाटन समारोहका वक्ताले सुझाव समेत दिएका छन् । अभियान सफल बनाउन सहयोग गर्ने समेत सरोकारवाला निकाय र वक्ताले प्रतिवद्धता जनाएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको अध्यक्षता तथा बारा क्षेत्र नं. ४ का सांसद एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) को प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उप्रमुख भोलाप्रसाद अधिकारी, परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षत्री कुर्मी, बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृत शान्तीराज प्रसाईं, बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवाल, सशस्त्र प्रहरी बल ४० नम्बर रिजर्भ गणका सशस्त्र प्रहरी उपरीक्षक नवराज थापा, ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक सुभद्रा लामा वाइवा, सडक डिभिजन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर गुरुप्रसाद अधिकारी, डिभिजन वन कार्यालय बाराका प्रमुख राजिव झा, परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियार, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मालगायत उपस्थित थिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा उद्घाटन भएको अभियानको समापन जेठ १३ गते परवानीपुर गाउँपालिकामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्