लागूऔषधविरुद्ध युवाको मोटरसाइकल र्याली

सिमराः लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध सचेतनालागि काठमाडौं र हेटौंडाबाट युवाहरु मोटसाइकल र्यालीसहित मंगलबार जीतपुरसिमरा आईपुगेका छन् । मधेश प्रदेशका जिल्लामा सचेतनामुलक र्यालीका लागि ४० वटा भन्दा बढी मोटरसाइकलमा युवाहरु बारा आएका हुन् ।
बारा प्रवेश गर्ने क्रममा युवाहरुलाई पथलैया र सिमरामा स्वागत गरिएको थियो । पथलैयामा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सिमरामा ईलाका प्रहरी कार्यालय सिमरा तथा नयाँ गोरेटो पुर्नस्थापना केन्द्रले युवाहरुलाई स्वागत गरेको हो ।
स्वागतसंगै सिमरास्थित अल्पाइन अस्पतालमा सचेतनासभाको समेत आयोजना गरिएको थियो । सभामा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख तेजराज शर्मा, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सम्बोधन गर्दै लागूऔषधविरुद्ध युवाहरुको सचेतना अभियानको प्रशंसा गरेका थिए ।

मधेश प्रदेशसभा सदस्य चौधरीले युवाहरु सचेतनामुलक अभियानमा जुट्दा समाजमा सकारात्मक सन्देश जाने बताए । ‘लागूऔषध हाम्रो समाजमा दिनदिनै जरा गाड्दै गएको ठूलो समस्या हो । यस्तो अवस्थामा युवाहरू स्वयम् चेतनाको अगुवा बनेर अभियानमा जुट्नु सकारात्मक संकेत हो’ चौधरीले भने ।
ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख शर्माले लागूऔषधविरुद्धको सचेतना यात्रा समाज रूपान्तरणको लागि एक महत्वपूर्ण प्रयास भएको टिप्पणी गरे । उनले यस्ता अभियानबाट कुलतमा रहेका युवाहरूलाई नयाँ दिशा दिने बताए ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक जोशीले लागूऔषधमुक्त समाज निर्माणमा सबैको सहयोग अपरिहार्य रहेको बताए । ‘लागूऔषध नियन्त्रण गर्ने दायित्व प्रहरीको मात्रै हो भनेर नबुझौं, यो सबैको साझा दायित्व भित्र पर्दछ ’ जोशीले भने ‘जब समाज र युवाहरू यसरी आफैं अघि सर्छन्, तब लागूऔषधरहित समाज निर्माणमा ठोस परिणाम आउन सक्छ र अभियान संचालनमा सहयोग पुग्छ ।’

कार्यक्रममा नेकपा एमाले मधेश प्रदेशका सचिव मनोज पौडेल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय प्रहरी नायब उपरीक्षक वकिल सिंह, रेडक्रस सोसाइटी सिमरा उपशाखाका प्रमुख एवम् अल्पाइन अस्पतालका संचालन शिवकुमार शर्मा, एमाले जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाहलगायतको उपस्थिती रहेको थियो ।

नयाँ गोरेटो पुर्नस्थापना केन्द्रका अध्यक्ष राजकुमार लामाको अध्यक्षतामा सम्पन्न सचेतना सभाको संचालन प्रदीप गौतमले गरेका थिए ।
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा रोयल इन्फिल्र्डस र केटीएम बाइक सपको आयोजनामा युवाहरुले मधेशका जिल्लामा मोटरसाइकल र्यालीको आयोजना गरेका हुन् । युवाहरु बारा, पर्सा हुँदै धनुषाको जनकपुरधाम जानेछन् ।
