पुर्नस्थापना केन्द्रको भूमिका प्रभावकारी बनाउन प्रशिक्षण


eShilalekh

२१ चैत्र २०७८, सोमबार २०:३९

सिमरा: लागुऔषध प्रयोगकर्तालाई समाजमा पुर्नस्थापित गराउन सक्रिय संस्थाहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन आयोजित सात दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

रिकभरीङ नेपालसंगको सहकार्यमा जिल्ला अनुगमन तथा समन्वय समिति र जिल्ला प्रशासन कार्यालय पर्साको संयुक्त आयोजनामा संचालित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रममा रिकभरीङ नेपालमा आवद्ध मधेस प्रदेशभित्र रहेका पुर्नस्थापना केन्द्रका प्रतिनिधि सहभागी थिए ।

लागुऔषध प्रयोगकर्तालाई दिईने उपचार पद्धति, परामर्श र समाजमा पुर्नस्थापित गराउनका लागि संस्थाहरुको भूमिकाका विषयमा प्रशिक्षण दिइएको थियो । संस्थाले दिने परामर्श र व्यवस्थापन प्रभावकारी हुन नसके लागुऔषध मुक्त समाज निर्माण गर्ने अभियान अघि बढ्न नसक्ने भन्दै ति संस्थामा काम गर्ने प्रतिनिधि सहभागी गराई प्रशिक्षित गरिएको हो ।

प्रदेशभित्रका ३० जनाको सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा मुख्य प्रशिक्षक राजन केसीसहित परामर्शदाता पूर्ण महर्जनलगायतले सहजीकरण गरेका थिए । रिकभरीङ नेपाल मधेस प्रदेश कमिटीको संयोजनमा सात दिनसम्म संचालित तालिमको सोमबार एक कार्यक्रमकाबीच समापन गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयका अधिकृत उमेशकुमार ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा रिकभरीङ नेपालका महाधिवेशन प्रतिनिधि विनय लामा, वैकल्पिक केन्द्रीय प्रतिनिधि सदस्य राजकुमार लामा रिकभरीङ नेपाल मधेस प्रदेशका फोकल पर्सन जटाशंकर गिरी, आयुश भुजेललगायत सहभागी थिए ।

रिकभरीङ नेपाल मधेस प्रदेशका अध्यक्ष गौरव बर्माको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको संचालन सन्तोष थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्