एमालेमा देखिएको जनलहर जनमुखी कामको प्रतिफल हो: उपमहासचिव गुरुङ


eShilalekh

२९ चैत्र २०७८, मंगलवार २१:०८

निजगढः नेकपा एमालेका उपमहासचिव एवम् केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले देशभर एमालेमा देखिएको जनलहर जनमुखी कामको प्रतिफल रहेको बताएका छन् । देश र जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै रहेको आमनागरिकले बुझेसंगै एमाले रोज्ने क्रम देशभर बढेको गुरुङले बताए ।

स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै प्रेस चौतारी नेपाल मधेस प्रदेश कमिटीले मंगलवार निजगढमा आयोजना गरेको चुनावी रणनीतिक भेलालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङले एमाले नेतृत्वको सरकारले गरेका कामलाई जनताले रुचाएको र फेरी पनि एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने सन्देश जनलहरले बोकेको बताए । एमालेलाई कमजोर देखाउन खोजिएको मधेस प्रदेशमै अहिले आफ्नो पार्टी बलियो अवस्थामा पुगेको उनको भनाई थियो ।

‘मधेसमा एमालेलाई कमजोर देखाएर राजनिति गर्न केही दल सक्रिय थिए र अहिले पनि छन् । तर अहिले एमाले बलियो अवस्थामा छ’ गुरुङले भने ‘आमनागरिक मात्र नभई अन्य पार्टीबाट जितेका जनप्रतिनिधिले नै रोजाई रोज्न थालेका छन् । एमालेबाट मात्रै विकास सम्भव रहेको सबैको बुझाईमा छ । त्यसैले एमाले रोज्ने क्रम देशभर बढेको हो ।’

नेता गुरुङले केपी ओली नेतृत्वको सरकारले गरेको कामको मुल्यांकन मधेसको जनताले गर्ने भन्दै नेता गुरुङले अब हुने निर्वाचनमा एमाले मधेस प्रदेशमै ठुलो शक्ति हुने बताए । मधेस प्रदेशको समग्र विकासका निम्ति एमालेले अघि सारेको योजना जनताले रुचाएको गुरुङले बताए ।

भेलालाई एक घण्टा भन्दा लामो समय सम्बोधन गरेका नेता गुरुङले देशको विकासका निम्ति मधेसको विकास अपरिहार्य रहेको बताए । ‘अनेकौ विशेषता र ईतिहास बोकेको मधेस आफैमा महत्वपूर्ण प्रदेश हो’ उनले भने ‘यो प्रदेशको विकास अन्य प्रदेशको विकाससंग अन्तरसम्बन्धित छ । त्यसैले यो प्रदेशको विकासलाई एमालेले प्राथमिकतामा राखेको छ । ‘

कार्यक्रममा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमाले नेतृत्वको सरकारले गरेका काम मधेसका हरेक नागरिकले बुझ्न जरुरी रहेको भन्दै स्थानिय निर्वाचनमा जनता केन्द्रीत भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए । एमालेले गरेको काम सूचि बोकेर आमनागरिक माझ पुग्न रिजालले आग्रह गरे । उनले एमालेको पक्षमा देखिएको जनलहर र एमालेले गरेको कामको सूचि हेर्ने हरेक नागरिकले एमालेको पक्षमा मतदान गर्ने रिजालले दाबी गरेका छन् ।

प्रेस चौतारी नेपाल बाराको संयोजनमा भएको कार्यक्रममा कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, प्रचार विभागका सदस्य प्रचार विभागका सदस्यहरु गगन विष्ट, महेश दास, चेतन अधिकारी, केन्द्रीय महासचिव हिरामान लामा, केन्द्रीय सचिव कमलकुमार उपाध्याय, केन्द्रीय सदस्य श्वेता सिन्हा, निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनाललगायतले आगामी निर्वाचनमा चौतारी र एमालेको रणनीति तथा एजेण्डा जनमुखी हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा एमाले नेता गुरुङले प्रेस चौतारी नेपाल मधेस प्रदेशले संचालन गर्न लागेको ‘पिसिएन मधेस’ नामक अनलाईन पत्रिकाको शुभारम्भ गरेका थिए । मधेस प्रदेशको गतिविधिलाई स्थान दिने गरी कमिटीले अनलाईन संचालनमा ल्याएको हो ।

सोही कार्यक्रममा प्रेस चौतारी नेपाल बाराले क्यान्सर पीडितलाई सहयोग गर्ने घोषणा गरेको रकम हस्तान्तरण गरिएको थियो । क्यान्सर भई उपचाररत निजगढ २ का राधाकृष्ण सापकोटाको पत्नीलाई १० हजार पाँच सय ५५ रुपैया हस्तान्तरण गरिएको हो । उक्त रकम एमाले केन्द्रीय प्रचार विभाग प्रमुख गुरुङले हस्तान्तरण गरेका थिए ।

यसैगरी मधेस प्रदेश कमिटीले केन्द्रीय प्रचार विभाग सदस्य महेश दास, प्रेस चौतारी नेपालबाट नेपाल पत्रकार महासंघको अध्यक्षमा पर्सा जिल्लामा निर्वाचित अनुप तिवारीलाई कार्यक्रममा सम्मान गरेको थियो । कार्यक्रममा प्रदेशको आठ वटै जिल्लाका प्रेस चौतारी नेपाल र नेकपा एमालेका जिल्ला प्रतिनिधिले आसन्न निर्वाचनमा जिल्लाको अवस्थाको विषयमा केन्द्रीय प्रचार विभागलाई जानकारी गराएका थिए ।

 

मधेस प्रदेश कमिटीका अध्यक्ष फणि महतको अध्यक्षतमा सम्पन्न कार्यक्रममा प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन प्रदेश महासचिव गौतम श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्