बारामा ठूलो मात्रामा साल काठ बरामद, एक तस्कर पक्राउ

सिमराः बारामा काठ तस्करी नियन्त्रणका लागि सञ्चालन गरिएको विशेष अपरेसनमा बन कार्यालयले ठूलो सफलता हात पारेको छ ।
मधुबन सब–डिभिजन बन कार्यालयको संयुक्त एम्बुस टोलीले ठूलो परिमाणमा साल काठसहित एक जना तस्करलाई पक्राउ गरेको छ भने अन्य तस्करहरू फरार भएका छन् ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका १७ रामनगर मुसहर टोलका ६७ वर्षीय रामबाबु सहनी रहेका छन् । बन अधिकृत संजय कुमार चौधरीको नेतृत्वमा खटिएको टोलीले बथान टोल नजिक गस्ती गर्ने क्रममा तस्करीमा संलग्न समूहलाई नियन्त्रणमा लिएको हो ।
डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाका अनुसार अपरेसनका क्रममा ५ थान साल जातका काठ ४६.०६ क्युफिट, ६ थान होंडा साइकल, २ थान आरा र २ थान बन्चरो बरामद गरिएको छ ।
पक्राउ परेका सहनीलाई डिभिजन बन कार्यालय बाराको थुनुवा कक्षमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।