बारामा बहिरा र सुस्तश्रवण बालबालिकाको लागि नयाँ आवासीय भवन हस्तान्तरण


eShilalekh

१७ भाद्र २०८२, मंगलवार १८:०७

सिमराः नेपाल अपाङ्ग सेवा संघ बाराको परिसरमा बहिरा, सुस्तश्रवण तथा बौद्धिक बालबालिकाका लागि निर्माण भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल अपाङ्ग सेवा संघ बारा र नेपाल राष्ट्रिय मावि सिमराको संयुक्त पहलमा अपाङ्ग बालबालिकाका लागि आवासीय भवन निर्माण गरिएको हो ।

श्री रेस्क्यु नेपाल ललितपुरको सहयोग र श्री साथी नेपालको समन्वयमा सम्पन्न यो परियोजना करिब ३५ लाख रुपैयाँको लागतमा सम्पन्न भएको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री पुरुषोत्तम पौडेलले समाजसेवामा प्रतिफलको आश नगरी निरन्तर लाग्ने व्यक्तिहरु सधैं जित्ने बताए । उनले भवन निर्माणमा प्रेरणादायी भूमिका निर्वाह गरेकी श्री साथी नेपालकी अध्यक्ष सरिता सापकोटा तथा उनको परिवारलाई विशेष धन्यवाद पनि ज्ञापन गरे ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले दक्षिणी ग्रामीण क्षेत्रका विद्यालयमा पूर्वाधार न्यून र विद्यार्थी संख्या बढी रहेको उल्लेख गर्दै यस्तो अवस्थालाई सुधार्न उपमहानगरपालिका तत्पर रहेको बताए ।

कार्यक्रममा पूर्वमन्त्री पौडेल, नगर प्रमुख राजन पौडेल, उप–प्रमुख भोलाप्रसाद अधिकारी, प्रधानाध्यापक शंकर आचार्य, अध्यक्ष सरिता सापकोटा, दोभाषे रेखा श्रेष्ठ लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगा वाग्ले र श्री साथी नेपालकी अध्यक्ष सरिता सापकोटाको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा बहिरा तथा सुस्तश्रवण भएका बालबालिकाले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्