लुटपाट भएका सामान बुझाउन जीतपुरसिमरा उपमहानगरपालिको अपिल


eShilalekh

२९ भाद्र २०८२, आईतवार १३:४७

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले भदौ २४ गते भएको लुटपाट र तोडफोडको घटनामा लुटिएका सामग्रीहरू फिर्ता गर्न सार्वजनिक रुपमा आग्रह गरेको छ ।

उपमहानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै उक्त घटनामा लुटिएका सामग्रीहरू फिर्ता गर्न सार्वजनिक रुपमा आग्रह गरेको हो ।

कार्यालयद्वारा जारी सूचना अनुसार उपमहानगरपालिका, वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा भएको लुटपाट र तोडफोडको घटनामा गाडी, मोटरसाइकल, साइकल, कम्प्युटर, ल्यापटप, फोटोकपी मेसिन, प्रिन्टर, स्क्यानर, सीसीटीभी, फर्निचर, महत्वपूर्ण कागजात तथा कर्मचारीका निजी सवारी साधनलगायतका सामग्रीहरू लुटिएका थिए ।

उपमहानगरपालिकाले ती सामग्रीहरू कुनै पनि कारण वा माध्यमबाट कसैले देख्नु भएमा, भेटाउनु भएमा वा आफ्नो कब्जामा लिएको भए नजिकको सुरक्षा निकाय, वडा कार्यालय, वा स्वास्थ्य संस्थामा बुझाइदिन अनुरोध गरेको छ ।

यस कार्यमा सहयोग गर्ने व्यक्तिको पहिचान गोप्य राखिने सूचनामा उल्लेख गरिएको छ ।

सबै नगरवासीलाई लुटिएका सामग्रीहरू फिर्ता गरी शान्ति सुरक्षा कायम गर्न सहयोग गरिदिन उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले अनुरोभ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्