बारामा एउटै गाउँका तीन जनाको मृत्यु, अनुसन्धानमा जुट्यो प्रहरी


eShilalekh

३१ भाद्र २०८२, मंगलवार ११:४८

सिमराः बाराको सुवर्ण गाउँपालिका ३ पतगछियाका तीन स्थानीयको सोमबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ४५ वर्षीय गोपाल यादव, ३० वर्षीय रविशंकर यादव र ४० वर्षीय अजमुल मिया रहेका छन् ।

गोपालको स्थानीय अस्पताल र अन्य दुईको भारत मोतिहारीस्थित अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता बिजयराज पण्डितले जानकारी दिएका छन् । उनीहरुको मृत्युको कारण खुल्न सकेको छैन ।

स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार तीन जनाले भदौ २९ गते एकै ठाउँमा बसेर मदिरा सेवन गरेका थिए । मदिरा सेवन गरेको भोलीपल्ट तीनै जना बिरामी परेको र उपचारका लागि अस्पताल गएको स्थानीयले प्रहरीलाई जानकारी गराएका छन् ।

स्थानीयका अनुसार बिरामीमध्ये गोपाल गाउँकै अस्पताल र अन्य दुई भारत मोतिहारीस्थित अस्पतालमा उपचारका लागि गएका थिए । उपचारका क्रममा केही घण्टाको फरकमा तीनै जनाको मृत्यु भएको हो । तीनै जनाको मृत्यु भएपछि विषाक्त मदिरा वा खाना सेवन गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

मृतकका परिवारले मृतकको शवको दाहसंस्कार गरिसकेका छन् । गोपाल र रविशंकरको पतगछिया र अजमुलको भारतमै दाहसंस्कार गरिएको हो । दाहसंस्कारपछि मात्रै घटनाको बारेमा प्रहरीलाई जानकारी गराएपछि अनुसन्धान जटिल बनेको छ ।
घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बाराले टोली खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्