लुटपाट भएको सामान फिर्ता गर्न ईलाका प्रशासन कार्यालय सिमराको आग्रह


eShilalekh

३१ भाद्र २०८२, मंगलवार २०:४३

सिमराः ईलाका प्रशासन कार्यालय सिमराले भदौ २४ गते साँझ कार्यालयमा तोडफोड र आक्रमण हुँदा लुटपाट भएका सामग्री तथा अभिलेख फिर्ता गर्न अनुरोध गरेको छ ।

कार्यालयका प्रमुख राजेन्द्रप्रसाद कंडेलले मंगलबार सूचना जारी गर्दै ल्यापटप, कम्प्युटर, प्रिन्टर, स्क्यानर, कुर्सी र महत्वपूर्ण अभिलेख चोरी भएकाले उक्त सामग्री फिर्ता गर्न आग्रह गरेका हुन् ।

जेनजीको प्रदर्शनका क्रममा आक्रमण हुँदा उक्त कार्यालयमा पूर्णरुपमा क्षति पुगेको छ । प्रदर्शनकारीले उक्त कार्यालय भित्र रहेका सामग्री तोडफोड गरी क्षति पुर्याउनुका साथै कार्यालय प्रमुख चढ्ने सवारी साधनमा समेत आगजनी गरेका थिए ।

आक्रमणपछि उक्त कार्यालयको सेवा ठप्प रहेको छ । दैनिक सयौं सर्वसाधारणले सेवा लिँदै आएको उक्त कार्यालय अहिले सुनसान देखिन्छ । उक्त कार्यालयले नागरिकता, राष्ट्रिय परिचयपत्र, संघसंस्था दर्ता तथा नविकरणको काम गर्दै आएको छ ।

कार्यालय प्रमुख कंडेलले कम्प्युटर, प्रिन्टर, स्क्यानर कुर्सी र कागजात नभएका कारण तत्काल सेवा प्रदान गर्न सक्ने अवस्था नरहेको बताएका छन् । कंडेलका अनुसार दशैंपछि मात्रै कार्यालयले केही सेवा सूचारु गर्न सक्ने अवस्था छ ।

लामो समय भाडाको घरबाट सेवा प्रदान गर्दै आएको उक्त कार्यालय केही महिनाअघि मात्रै आफ्नै भवनमा सरेको थियो । उक्त कार्यालय संचालनका लागि राजनीतिक दल, कलकारखाना, संघसंस्था र स्थानीयले समेत सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्