भारतबाट अवैध रूपमा ल्याइएका चार हजार बोइलर चल्ला नष्ट

सिमराः भारतबाट अवैध रूपमा ल्याइएका ठूलो संख्याका बोइलर जातका कुखुराका चल्ला बरामद गरी नष्ट गरिएको छ।
नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत पर्साको केहुनिया नाकाबाट नेपाल भित्र्याइँदै गरेका करिब चार हजार बोइलर जातका कुखुराका चल्लाहरू सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको हो।
वीरगन्ज महानगरपालिका १९ केहुनिया क्षेत्रमा खटिएको नम्बर १३ गणको सशस्त्र प्रहरी टोलीले भारतबाट नेपाल ल्याँउदै गरिएको ना ४१ प ४२२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ती चल्लाहरू फेला पारेको थियो।
सुरक्षाकर्मीको उपस्थिति देखेपछि मोटरसाइकल चालक फरार भएका कारण प्रहरीले मोटरसाइकलसहितका चल्लाहरू नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका चल्लाहरूको अनुमानित बजार मूल्य करिब रु एक लाख रहेको अनुमान गरिएको छ।
उक्त चल्लाहरूलाई स्थानीय पत्रकार, जनप्रतिनिधि, नेपाल प्रहरी र पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधिको रोहबरमा खाडल खनेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ ।