ईलाका प्रशासन कार्यालय सिमराको सेवा दशैंपछि सुरु हुने

सिमराः जेनजी पुस्ताको प्रदर्शनको समयमा तोडफोड गरिएको सिमरास्थित ईलाका प्रशासन कार्यालयको सेवा त्यस दिनयता ठप्प छ । भदौ २४ गते भएको तोडफोडपछि कार्यालय सेवा दिन सक्ने अवस्थामा छैन ।
तोडफोडबाट कार्यालयमा रहेको कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, एसीलगायतका सामग्री पूर्णरुपमा क्षतविक्षत छ । प्रदर्शनकारीले कार्यालय भित्रै प्रवेश गरेर विद्युतियसामग्रीमा तोडफोड गर्दै कागजातमा समेत क्षति पुर्याएका थिए ।
प्रदर्शनकारीले उक्त कार्यालयका प्रमुख चढ्ने सवारी साधनमा समेत सडकमा ल्याएर आगजनी गरेका थिए । तोडफोड र आगजनीपछि कार्यालयका प्रमुख राजेन्द्रप्रसाद कंडेलले तत्काल सेवा दिन सक्ने अवस्था नरहेको बताए । कंडेलले दशैंपछि मात्रै कार्यालयले सेवा सुचारु गर्न सक्ने जानकारी दिए ।
कार्यालय ठप्प हुँदा नागरिकता, राष्ट्रिय परिचयपत्र, संघसंस्था दर्ता तथा नविकरणको काम पूर्णरुपमा रोकिएको छ । यस कार्यालयले जीतपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाका बासिन्दालाई सेवा प्रदान गर्दै आएको थियो ।
लामो समय भाडाको घरबाट सेवा प्रदान गर्दै आएको कार्यालय गत मंसिरमा मात्रै आफ्नै भवनमा सरेको थियो । उक्त भवनमा कार्यालय संचालन गर्न राजनीतिक दल, जीतपुरसिमरा उपमहानगरपालिका, विभिन्न वडा कार्यालय, स्थानीय सामाजिक अगुवा, विभिन्न कलकारखाना तथा संघसंस्थाले सामग्री सहयोग गरेका थिए ।
कार्यालय संचालानार्थ विभिन्न क्षेत्रबाट सहयोग गरिएको उक्त सामग्रीहरु तोडफोड भएको हो । तोडफोडपछि कार्यालयका कर्मचारीहरु निराश देखिन्छन् ।
