अमलेखगंजमा दुई सय ३६ किलो गाँजासहित एक जना पक्राउ

सिमराः बारा प्रहरीले सोमबार दिउँसो ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर कैलाश गाउँपालिका १० का ३८ वर्षीय रमेश रुम्बा रहेका छन् ।
जितपुरसिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगंजमा प्रहरीले करिब दुई सय ३६ किलो लागुऔषध गाँजा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले मकवानपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा२ख ९५६९ नम्बरको मिनि ट्रक जाँच गर्दा दुई सय ३६ किलो सात सय ५० ग्राम गाँजा बरामद गरेको हो ।
ट्रकको छतमाथि फल्स बटन बनाई प्लास्टिकको पोका र त्रिपालले छोपेर लुकाइएको अवस्थामा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका रुम्बालाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरिक्षक वेदप्रकाश जोशीको नेतृत्वमा टोली घटनास्थलमा खटिएको छ ।
बरामद गरिएको गाँजा, ट्रक र चालक हाल इलाका प्रहरी कार्यालय अमलेखगंजमा राखिएको छ ।