सिरहामा अपहरणपछि किशोरको हत्या, आँप बगैंचामा शव फेला


eShilalekh

७ आश्विन २०८२, मंगलवार १५:२५

सिरहाः सिरहाको गोलबजार नगरपालिका १३ डंग्राहाबाट अपहरणमा परेका १७ वर्षीय अभिषेक महतोको शव मंगलबार बिहान फेला परेको छ ।

आइतबार राति अपहरणमा परेका महतोको शव घरदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको आँपको बगैंचामा फेला परेको हो ।

राति खाना खाएर चोकतर्फ घुम्न गएका उनी त्यसपछि घर फर्किएका थिएनन् । परिवारले इलाका प्रहरी कार्यालय, गोलबजारमा निवेदन दिँदै अभिषेकको सकुशल उद्धारको माग गरेका थिए ।

परिवारजनका अनुसार सोमबार बिहान महतोकोे आमाको मोबाइलमा इमो मार्फत अपहरणकारी समूहले पाँच करोड रुपैयाँ फिरौती माग गरेका थिए । ‘छोरा बचाउन चाहनुहुन्छ भने पाँच करोड बुझाउनुहोस’ भन्दै धम्कीपूर्ण सन्देश आएको थियो ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्द साहले घटनाको अनुसन्धान भइरहेको जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी धर्मेशकुमार यादवका अनुसार घटनास्थलमा थप अनुसन्धान गर्न कुकुर परिचालनको तयारी भइरहेको छ ।

प्रहरीले महतोको हत्यामा संलग्न अपहरणकारी समूहको खोजी तीव्र पारेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्