बिलबिजक बिना गरगहना किनबेच नगर्न मधेस प्रदेश प्रहरीको आग्रह

सिमराः मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले बिना बिलबिजक सुनचाँदीका गहना वा अन्य कुनै पनि सामग्री किनबेच नगर्न आग्रह गरेको छ ।
कार्यालयले एक सूचना जारी गर्दै बिना बिलबिजक सुनचाँदीका गहना वा अन्य कुनै पनि सामग्री किनबेच नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूले चोरीका सामानहरू बजारमा बिक्री गर्न सक्ने सम्भावना रहेको भन्दै प्रहरी कार्यालयले सूचना जारी गरेको हो ।
मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदीका अनुसार आन्दोलनको क्रममा विभिन्न प्रतिष्ठान, सरकारी तथा निजी भवन, बैंक र वित्तीय संस्थाबाट महत्त्वपूर्ण कागजात, ऐतिहासिक दस्ताबेज, बहुमूल्य गरगहना, नगद र अन्य जिन्सी सामानहरू लुटिएको जानकारी प्रहरीलाई प्राप्त भएको छ ।
प्रहरीले यस्ता चोरीका सामानहरू लुकाइछिपाइ किनबेच हुन सक्ने भन्दै बिल नभएका र आधिकारिक बिक्रेताबाहेक कुनै पनि सामान नकिन्न चेतावनी दिएको छ ।
साथै प्रहरीले यस्ता घटना वा संलग्न व्यक्तिबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको टोल फ्री नम्बर १०० मा तत्काल खबर गर्न आग्रह गरेको छ ।





