सिरहामा १५ वर्षीय अभिषेकको हत्या, १७ वर्षीय नातेदार पक्राउ

सिरहा: सिरहाको गोलबजार नगरपालिका १३ भेल्हा डंगराहाका १५ वर्षीय अभिषेक सिंहको हत्या अभियोगमा उनका १७ वर्षीय नातेदार पंकज सिंह पक्राउ परेका छन्।
तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान गर्दा शंका पंकजमाथि गएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । ५ असोजदेखि बेपत्ता रहेका अभिषेकको शव असोज ७ गते बिहान घर नजिकैको आँप बगैँचामा फेला परेको थियो।
प्रहरीलाई दिएको बयानमा पंकजले ट्याक्टर चलाउन सिकाउन नमान्दा रिस उठी योजनाबद्ध हत्या गरेको स्वीकार गरेका छन्। उनले अभिषेकलाई खेल्न जाऔं भन्दै खेतमा लगेर गम्छाले घाँटी थिची हत्या गरी शव ड्रममा लुकाएको बताएका छन्।
फिरौतीका लागि असोज ६ गते बिहान अभिषेककी आमालाई इमोमार्फत पाँच करोड मागिएको सन्देश पठाइएको समेत प्रहरीले जनाएको छ । सो सन्देश पनि पंकजकै मोबाइलबाट पठाइएको पुष्टि भएको छ।
पंकज नातामा अभिषेकको काका पर्छन् । घटनाको विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप अनुसन्धान सुरु गरेको छ।





