तोडफोडयता ठप्प बनेको ईलाका प्रशासन कार्यालयलाई प्राविधिक सामग्री सहयोग


eShilalekh

९ आश्विन २०८२, बिहीबार १८:५४

सिमराः जेनजी पुस्ताको प्रदर्शनको समयमा तोडफोड गरिएको सिमरास्थित ईलाका प्रशासन कार्यालयलाई बिहीबार कम्प्युटर, प्रिन्टर, स्क्यानरजस्ता प्राविधिक सामग्री हस्तान्तरण गरिएको छ ।

कार्यालयको अत्यावश्यक सेवा सुचारु गर्न सिमरा जेसीज र लायन्स क्लब अफ सिमरा जागरणको समन्वयमा सहयोग जुटाएर सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यालयलाई पाँच थान कम्प्युटर, तीन थान प्रिन्टर, दुई थान स्क्यानर सहयोग गरिएको सिमरा जेसीजका पूर्वअध्यक्ष शालिकराम अधिकारीले जानकारी दिएका छन् । उनले केही पुरानो सामग्रीलाई समेत मर्मत गरेर हस्तान्तरण गरिएको बताए ।

भदौ २४ गते भएको तोडफोडयता कार्यालयको सेवा ठप्प छ । तोडफोडबाट कार्यालयमा रहेको कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, एसीलगायतका सामग्रीमा पूर्णरुपमा क्षति पुगेको थियो । सो समयमा कार्यालयका प्रमुख चढ्ने सवारी साधन समेत सडकमा ल्याएर आगजनी गरिएको थियो ।

लामो समय भाडाको घरबाट सेवा प्रदान गर्दै आएको कार्यालय गत मंसिरमा मात्रै आफ्नै भवनमा सरेको थियो । उक्त भवनमा कार्यालय संचालन गर्न राजनीतिक दल, जीतपुरसिमरा उपमहानगरपालिका, विभिन्न वडा कार्यालय, स्थानीय सामाजिक अगुवा, विभिन्न कलकारखाना तथा संघसंस्थाले सामग्री सहयोग गरेका थिए ।

कार्यालयका प्रमुख राजेन्द्रप्रसाद कंडेलले कार्यालयले दशैंपछि सेवा सुचारु गर्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्