चुनावका लागि मतदाता नामावली संकलन सुरु


eShilalekh

९ आश्विन २०८२, बिहीबार १९:३६

सिमराः निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलन सुरु गरेको छ। अन्तरिम सरकारले मतदाता नामावलीसम्बन्धी अध्यादेश ल्याएलगत्तै आयोगले संकलन प्रक्रिया प्रारम्भ गरेको हो।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार नामावली संकलनका लागि कात्तिक ३० गतेसम्मको समय तोकिएको छ। उनका अनुसार १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिहरूले आफ्नो नाम दर्ता गर्न सक्नेछन्।

यसका लागि विदा बाहेक प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालय खुला राखिनेछ। साथै आयोगको वेवसाइट www.election.gov.np मार्फत प्रि-रजिष्ट्रेशन गरी applyr.election.gov.np बाट आवेदन भरेपछि सम्बन्धित कार्यालयमा गएर बायोमेट्रिक दिन सकिने व्यवस्था मिलाइएको छ।

आयोगले विवाह भई अन्यत्र गएका, बसाइँ सरेका वा विवरणमा त्रुटि भएका मतदाताले ठाउँसारी गर्न वा जानकारी सच्याउन पनि सुविधा पाउने व्यवस्था गरेको छ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१ गते चुनाव गर्ने म्यान्डेट पाएसँगै आयोग निर्वाचन तयारीमा तीव्र गतिमा लागेको छ।

प्रतिक्रिया दिनुहोस्