मध्यरातमा कसले छोड्यो अवोध बालिका ?

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ मगर टोलमा बिहीबार राति एक बालिका वेवारिसे अवस्थामा फेला परेकी छिन् । दशैंको टिकाको दिन राति करिब ११ बजे बस्तीको बीचमा बालिका फेला परेकी हुन् ।
बालिकालाई वेवारिसे अवस्थामा देखेपछि स्थानीयले उनको उद्धार गरेका थिए । प्रहरीसंग समन्वय गरेर तत्कालै उद्धार गरिएकी बालिका अहिले जीतपुरसिमरा उपमहानगरपालिका ७ की वडासदस्य सीता उप्रेतीको घरमा सुरक्षित छिन् ।
करिब एक वर्षको उमेर देखिने बालिकाको अवस्था सामान्य छ । उनको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन । प्रहरीको समन्वयमा वडासदस्य उप्रेतीको परिवारले बालिकालाई अहिले संरक्षण गरिरहेको छ ।
बालिका सुरक्षित भएपनि उनलाई मध्यरातमा कसले र किन छोड्यो भन्ने प्रश्न उठेको छ । बालिका फेला परेको करिब १५ घण्टा बितिसक्दा पनि उनको खोजीका लागि परिवार सम्पर्कमा आएको छैन ।
बालिका छोडिएको स्थानमा झोला समेत फेला परेको छ । जसमा पुरानो लुगाहरु समेत राखेको देखिन्छ । बालिका र पुरानो लुगासहितको झोला फेला परेका कारण उनलाई नियतवश छोडेको गएको आशंका स्थानीयले गरेका छन् ।
मानव अधिकार एलाइन्स बाराकी अध्यक्ष रिना बजगाईंले अवोध बालिकालाई किन र कसले छोड्यो भन्ने विषय अत्यन्तै गम्भीर रहेकाले यथार्थ पत्ता लगाउन आवश्यक रहेको बताएकी छिन् । ‘यो बालिकालाई जसले छोडेको भएपनि त्यो अपराध हो’ बजगाईंले भनिन् ‘त्यसैले यसको यथार्थ पत्ता लगाउन जरुरी छ ।’ बजगाईंले सामाजिक सञ्जालमार्फत बालिकाको अभिभावक खोजीका लागि आहवान गरिरहेकी छिन् ।
ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रकाश जोशीले बालिकालाई कसले छोड्यो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको बताएका छन् । ‘रातिदेखिनै बालिका कसले त्यहाँ छोड्यो भन्ने विषयमा खोजी गरिरहेका छौं’ जोशीले भने ‘बारा र पर्सामा समेत बालिका हराएको उजुरी रहे नरहेको जानकारी लिने काम गरिरहेका छौं । ’
डिएसपी जोशीले बालिका फेला परेको स्थान वरपर सिसिटिभी क्यामरा नभएको र त्यहाँसम्म आउन प्रयोग हुने सम्भावित बाटोमा रहेको क्यामरा जाँच गर्ने काम भईरहेको बताए ।