निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा सदस्य चुनावको कार्यतालिका स्वीकृत

सिमराः निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको कार्यतालिका स्वीकृत गरेको छ ।
आयोगले एक विज्ञप्ति जारी गर्दै मङ्सिर १ देखि १० गतेसम्म चुनावी प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको जनाएको छ ।
कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आउँदो माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
यसैगरी फागुन ३ देखि १८ गतेसम्म चुनाव प्रचारप्रसार हुने र त्यसपछि प्रचारप्रसार निषेधको अवधि रहने छ । फागुन २१ गते बिहान सात बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका सङ्कलन भएपछि मतगणना शुरू गरिने छ ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने, पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम रहेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र चुनावी प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको हुँदा चुनावमा भाग लिन चाहनेहरुले आउँदो कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने आयोगले जनाएको छ ।





