प्रहरीमाथि आक्रमणको आरोपमा वडाध्यक्ष पक्राउ, गोडैता बजार बन्द

सर्लाही: प्रहरीलाई कुटपिट र चौकीमा आक्रमण गरेको आरोपमा सर्लाहीको गोडैता नगरपालिका ७ का वडाध्यक्ष छोटेलाल भन्ने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ ।
वडाध्यक्ष दासलाई सर्लाहीको बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिए।
दासको नेतृत्वमा असोज १७ गते साँझ प्रहरी चौकी गोडैतामा ढुंगामुढा गरी प्रहरी कर्मचारीमाथि आक्रमण गरिएको आरोप छ। घटनामा प्रहरी चौकी गोडैताका इन्चार्ज प्रहरी नायब निरीक्षक अवधेशप्रसाद यादव गम्भीर घाइते भएका छन्। यादवको अगाडिका दुईवटा दाँत भाँचिएको डीएसपी राईले बताए।
आक्रमणबाट चौकीमा कार्यरत अन्य पाँच जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। प्रहरीका अनुसार ढुंगामुढा र बाँसको भाँठा प्रहार गर्दा चौकीमा रहेका तीन वटा मोटरसाइकलमा क्षति पुगेको छ।
घटना दुर्गा पूजाको लागि चन्दा उठाउने विषयमा विवाद भएपछि भएको थियो। गोडैता ७ का कारिल यादवलाई रामनगर गाउँपालिका ५ का अनिल राय यादवसहितले कुटपिट गरेका थिए। अनिललाई नियन्त्रणमा लिएर प्रहरी चौकीमा राखिएको बेला कारिलको पक्षबाट आएका वडाध्यक्ष दासको नेतृत्वमा समूहले प्रहरी चौकीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका वडाध्यक्ष दासलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ। उनलाई कुटपिट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, वडाध्यक्ष दासको पक्राउको विरोधमा बुधबार गोडैता बजार बन्द गरिएको छ।





