बारामा ७२ हजार मूल्यका फुटबल खेल्ने जुत्ता बरामद


eShilalekh

२५ आश्विन २०८२, शनिबार २०:२७

सिमराः बारा प्रहरीले शुक्रबार बिहान भन्सार छलीका फुटबल खेल्ने जुत्ता बरामद गरेको छ ।

बिश्रामपुर गाउँपालिका ५ ईटियाहीबाट प्रहरीले ७२ हजार मूल्य बराबर फुटबल खेल्ने जुत्ता बरामद गरेको हो ।

मुसहर्वा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र तामाङको नेतृत्वमा खटिएको गस्ती टोलीले बलिरामपुर चोक नजिकै ती सामानहरू बरामद गरेको हो ।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ मोटरसाइकलमा जुत्ता बोकेर ल्याउँदै गरेको अवस्थामा प्रहरी देख्नेबित्तिकै चालकले बोरा फालेर मोटरसाइकलसहित भागेका थिए ।

बोरा खोलेर जाँच गर्दा त्यसभित्र फुटबल खेल्ने जुत्ता फेला परेको र त्यसको अनुमानित मूल्य करिब ७२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

हाल बरामद गरिएका सामानहरू मुसहर्वा प्रहरी चौकीमा सुरक्षित रूपमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्