मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त

सिमराः मधेश प्रदेशमा जितेन्द्र प्रसाद सोनार (सोनल) नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई बुधबार साँझ नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनलले प्रदेशसभामा बहुमतका आधारमा सरकार गठनको दाबी पेश गरेका थिए। उनको दाबीलाई स्वीकार गर्दै प्रदेश प्रमुखको कार्यालयले उनलाई औपचारिक रूपमा नियुक्त गरेको हो।
सोनललाई जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) गरी पाँच राजनीतिक दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थन प्राप्त छ।
नयाँ सरकार गठनसँगै मधेश प्रदेशमा पाँच दलको गठबन्धनको सरकार बनेको छ। सोनलको नेतृत्वमा बनेको यो सरकारले अब विश्वासको मतका लागि प्रदेशसभामा उपस्थित हुने तयारी गरेको बताइएको छ।