भलुहीमा दुई समुहबीच झडप, वडाध्यक्षसहित पाँच घाईते


eShilalekh

७ बैशाख २०७९, बुधबार २०:३३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २३ भलुहीमा दुई समुहबीच झडप हुँदा वडाध्यक्ष अस्लम देवानसहित पाँच जना घाईते भएका छन् ।

बाटो निर्माणको विषयलाई लिएर विवाद हुँदा वडाध्यक्ष देवान र स्थानीय मुस्तकिम अंसारीको समुहबीच झडप भएको हो । दोहोरो झडपमा वडाध्यक्ष देवान पक्षका नासिर देवान र नाजिर देवान घाईते भएका छन् । यसैगरी अंसारी पक्षका चाँद महमद, अनु आरुल महमद र मुस्ताज अंसारी घाईते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भलुहीदेखी राजमार्ग जोडिने बाटोको विषयमा विवाद हुँदा दोहोरो झडप भएको हो । घाईतेमध्ये वडाध्यक्षसहित उनि पक्षीय व्यक्तिको उपचार बयोधा अस्पतालमा उपचार भईरहेको छ । यस्ता अंसारी पक्षका घाईतेको उपचार वीरगन्ज हेल्थ केयरमा भईरहेको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

झडपमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रवक्ता थापाले झडपमा संलग्न रहेका व्यक्तिलाई नियन्त्रणमा लिईएको र छलफलका लागि दुवै पक्षलाई बोलाइएको जानकारी दिए ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा एकअर्काको प्रतिस्पर्धी रहेका देवान र अंसारीबीच लामो समयदेखी विवाद रहदै आएको थियो । अंसारी नेकपा एमालेबाट उम्मेदवार बन्दा देवानले नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भई जित हात पारेका थिए ।

एमालेबाट आकांक्षी बनेका देवानलाई पार्टीले टिकट नपाएपछि अन्तिम समयमा माओवादीबाट चुनाव लड्दै निर्वाचित भएका थिए । सोही समयदेखी अंसारी र देवान एकअर्कासंग असन्तुष्ट रहदै आएका छन् ।

माओवादीबाट चुनाव जितेका देवान अहिले एमालेमा छन् । एमाले र माओवादीबीच भएको एकता प्रक्रियाका क्रममा देवानले पुनः एमाले रोजेका थिए । उनि एमालेबाट पुनः वडाध्यक्षका आकांक्षी हुन् । यता अंसारीले पनि वडाध्यक्षमा दावी गरेका छन् । दुवैले वडाध्यक्षमा दावी गरेपछि दुई पक्षबीच असमझदारी बढ्दै गएको थियो ।

प्रतिक्रिया दिनुहोस्