जीतपुरसिमरामा निर्वाचन अधिकृतको कार्यालय स्थापना


eShilalekh

८ बैशाख २०७९, बिहीबार १४:१८

सिमरा: स्थानीय तहको निर्वाचनको लागि जीतपुरसिमरा उपमहानगरपालिकामा विहिवार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । उपमहानगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृत टिकामणी न्यौपानेको कार्यालय स्थापना गरिएको हो ।

बैशाख ३० गतेका लागि तोकिएको निर्वाचन प्रक्रिया सम्पन्न गर्न अधिकृत न्यौपाने जीतपुरसिमरा आएका छन् । दुई दिन अघि बारा आएका न्यौपानेले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मीसंग छलफल गरेपश्चात कार्यालय स्थापना गरेका हुन् ।

न्यौपानेलाई जीतपुरसिमराका उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले स्वागत गरेका थिए । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसंगै अधिकृत न्यौपानेले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् ।

अधिकृत न्यौपानेले जीतपुरसिमराको निर्वाचन प्रक्रियालाई विवादरहित ढंगबाट सफल बनाउनका लागि तयारी सुरु गरिएको बताए । अधिकृत न्यौपानेले निर्वाचनको तयारीका लागि शुक्रवार राजनीतिक दलहरुबिच छलफल गर्ने भएका छन् ।

‘आजदेखि निर्वाचनको तयारी औपचारिकरुपमा सुरु भएको छ । अब हामीले तयारीका काम अघि बढाउनेछौ’ अधिकृत न्यौपानेले भने ‘राजनीतिक दलसंग समन्वय गरेर निर्वाचन प्रक्रियालाई सहज र सरल बनाउनतर्फ हाम्रो ध्यान केन्द्रीत हुनेछ । त्यसका लागि भोलि बैठक बोलाउछौं ।’

प्रतिक्रिया दिनुहोस्