सडक कब्जा गरेर व्यापार, सम्बन्धित निकाय मुकदर्शक, संघीय सडक भन्दै पन्छियो उपमहानगर


eShilalekh

१३ पुष २०८२, आईतवार १७:२७

सिमराः बारा जीतपुरका व्यवसायीले बजार क्षेत्रको सर्भिस लेन खाली गराउन माग राख्दै आइतबार करिब डेढ घण्टा सडक अवरुद्ध पारेका छन् । जीतपुर बजार क्षेत्रको सर्भिस लेननै कब्जा गरेर अव्यवस्थित ढंगले राखिदै आएको पसल हटाउन माग गर्दै सटर व्यवसायीले सडक अवरोध गरेका हुन् ।

पथलैया–वीरगन्ज व्यापारिक मार्ग कब्जा गरेर राखिएको पसलका कारण जीतपुर बजार क्षेत्र अव्यवस्थित र अस्तव्यस्त बन्दै आएको छ । सटरमा व्यवसाय गर्दै आएका व्यवसायीले यसअघि सर्भिस लेन खाली गराउन माग गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझाउँदा दिइएको समयसीमामा समेत सर्भिस लेन खाली हुन नसकेपछि सटर व्यवसायीले विरोधस्वरुप सडक अवरोध गरेका हुन् । व्यवसायीको अवरोधका कारण पथलैया–वीरगन्ज व्यापारिक मार्गमा गुड्ने सवारी साधन प्रभावित बनेको थियो ।

व्यवसायी सडकमा उत्रिएपछि ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवाकर गणेशको नेतृत्वमा पुगेको प्रहरी टोलीले अवरुद्ध सडक खुलाएका थिए । व्यवसायीको मागका विषयमा सम्बन्धित निकायसंग बसेर ‘टेबल टक’ गर्ने आश्वासन दिँदै प्रहरीले सडक खुलाएको हो । प्रहरीको अनुरोधपछि व्यवसायी सडक छोड्न राजी भएका हुन् ।

जीतपुरको मुख्य बजार क्षेत्रमा सर्भिस लेननै कब्जा गरेर सडक, फुटपाथ, नालामा अव्यवस्थित ढंगले पसल राखिदै आएको छ । जसका कारण सर्भिस लेनमा गाडी गुड्न अवरोध हुने मात्र नभई बजार क्षेत्र अस्तव्यस्त हुने गरेको छ । सडक ढाकेर राखिएका पसल र मानिसको भिड्भाड्ले बजार क्षेत्र यातायात व्यवस्थापन समेत चुनौतीपूर्ण बनिरहेको छ ।

यता सडकमा राखिएको अव्यवस्थित बजारका कारण सटरमा महंगो शुल्क र स्थानीय सरकारलाई कर तिरेर व्यवसाय गर्दै आएका व्यवसायी प्रभावित हुँदै आएका छन् । सडकनै ढाकेर राखिएका पसलका कारण बजार क्षेत्र कुरुप बन्ने मात्र नभई सटर व्यवसायीको व्यवसाय नै धरासायी बन्न थालेको कस्मेटिक संघ जीतपुरकी अध्यक्ष रिना बजगाईंले बताईन् ।

‘जीतपुरको अव्यवस्थित बजार व्यवस्थित हुनुपर्छ । बजार क्षेत्र सुन्दर र सफा हुनुपर्छ भन्ने हाम्रो माग हो’ बजगाईंले भनिन् ‘यसको सुनुवाई भएन भने हामी फेरी पनि आन्दोलनमा उत्रनेछौं ।’ बजगाईंले सोमबार बिहान १० बजेसम्म सडकको अव्यवस्थित पसल नहटे पुनः राजमार्ग अवरोध गर्ने बताईन् ।

बजगाईंले सरोकारवाला निकायलाई पटकपटक ध्यानाकर्षण गराउँदा समेत सडक क्षेत्र खाली हुन नसकेको गुनासो गरिन् । बजगाईंले भनेजस्तै उपमहानगरपालिकाको कार्यालयदेखि उत्तरतर्फ मुख्य चोकसम्मको सर्भिस लेन दिनहुँ अस्तव्यस्त हुने गरेको छ । जसको प्रभाव मुख्य लेनमा समेत परिरहेको छ ।

बजार अस्तव्यस्त हुँदा समेत स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकाय मुकदर्शक देखिन्छन् । अव्यवस्थित बजार हटाउन र सडकमा व्यवसाय गर्दै आएका व्यवसायीलाई व्यवस्थित स्थानमा स्थानान्तरण गर्न जनप्रतिनिधि र सम्बन्धित निकायले चासो देखाएको पाईदैन ।

उपमहानगरपालिकाका नगर प्रहरीले यसअघि सर्भिस लेनको अव्यवस्थित पसल हटाउन प्रयास गरेको थियो । सो क्रममा नगर प्रहरीमाथिनै हातपात भएको थियो । त्यसयता उपमहानगरपालिकाले सडक खाली गर्न मात्रै सूचना जारी गरिरहेको छ ।

संघीय सडक भन्दै पन्छियो उपमहानगरपालिका
सटर व्यवसायी आन्दोलनमा उत्रिएपछि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले आइतबार दिउँसो विज्ञप्ति जारी गरेका छन् । उनले विज्ञप्तिमा जीतपुर बजार क्षेत्रको सडक उपमहानगरको स्वामित्व भित्र नभई संघीय सरकार मातहत रहेको उल्लेख गरेका छन् ।

संघीय सडक भएपनि उपमहानगर क्षेत्रभित्र भएकाले उक्त सडक अन्तर्गतको सार्वजनिक आवागमन, ट्राफिक व्यवस्थापन, बजार अनुशासनमा काम गरिरहेको उल्लेख गर्दै नगर प्रमुख पौडेलले सडक, फुटपाथ, सार्वजनिक स्थल अतिक्रमण नगर्न अनुरोध गरेका छन् ।

उनले सार्वजनिक सडक र स्थानको अतिक्रमण हटाउन, ट्राफिक व्यवस्थापन गर्न तथा सडक सुरक्षाको पालना गराई सहज रुपमा सडक यातायात संचालन गराउन संघीय सरकार र मातहतका कार्यालय, व्यवसायी, नागरिक र सरोकारवालासंग अनुरोध समेत गरेका छन् । नगर प्रमुख पौडेलले नै सरोकारवाला निकायसंग अनुरोध गरेपछि आन्दोलित व्यवसायी भने अन्यौलमा परेका छन् ।

स्थानीय सरकारका रुपमा रहेको उपमहानगरपालिकालाई मुख्य केन्द्रमा राखेर व्यवसायी आन्दोलित थिए । तर उपमहानगरपालिकाको कार्यालय भने अन्तिम समयमा संघीय सडक भन्दै पन्छिएको छ ।

हेर्नुहोस् नगर प्रमुखको विज्ञप्तिः

प्रतिक्रिया दिनुहोस्