पूर्वमन्त्री श्रेष्ठले भेटे परवानीपुर घटनाका घाइते, उपचारमा कमी हुन नदिन गरे आग्रह

सिमरा: पूर्वमन्त्री एवम् बारा क्षेत्र नं. ४ का निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले बाराको परवानीपुरमा भएको चक्कु प्रहार घटनाका घाइतेसंग भेट गरेका छन् । गण्डकस्थित एलएस न्यूरो अस्पताल पुगेर श्रेष्ठले घाइतेसंग भेट गर्दै स्वास्थ्य अवस्था बुझेका हुन् ।
सो क्रममा पूर्वमन्त्री श्रेष्ठले घाइतेको उपचारमा कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गरेका छन् । अस्पतालको आर्थिक प्रशासन शाखाका दिपु राउतसंग भेट गर्दै नेता श्रेष्ठले उपचारमा कमी हुन नदिन आग्रह गरेका हुन् ।
नेता श्रेष्ठसंगको भेटमा घाइते र परिवारले उपचारका लागि आर्थिक समस्या भएको बताएका थिए । भेटपछी संचारकर्मीलाई प्रतिक्रिया दिँदै नेता श्रेष्ठले आर्थिक कारणले घाइतेको उपचार नरोक्न अस्पताललाई आग्रह गरेको बताए ।
परवानीपुर गाउँपालिका १ रहरियाडीमा बुधबार बिहान आमाछोराको विभत्सरुपमा हत्या गरिएको थियो भने घटनामा बुवाछोरी घाइते भएका थिए । घटनामा ४६ वर्षीया सुमित्रा देवी र उनका ३० वर्षीय छोरा रामेश्वर मण्डलको ज्यान गएको थियो । उक्त घटनामा सुमित्राका ५२ वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीय छोरी रिनाकुमारी घाइते भएका थिए ।
घटनामा रामेश्वरको पत्नी मनिताकुमारी र उनको प्रेमी धर्मेन्द्र महतोलाई प्रहरीले पक्राउ गरिसकेको छ । वैदेशिक रोजगारीका लागि दुबईमा रहेका धर्मेन्द्रले नेपाल आएर प्रेमीका मनिताको पति र सासुको चक्कुले रेटेर हत्या गरेका हुन् । धर्मेन्द्रलाई मनिताले सहयोग गरेकी थिइन् ।





