सब–इन्जिनियर हत्या प्रकरण: जागिर पाउने लोभमा हत्या, तीन जना पक्राउ

सर्लाहीः सर्लाहीमा सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या प्रकरणमा प्रहरीले मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी रामगोपालपुर नगरपालिका ५ घर भई सर्लाही बरहथवा ९ शान्तिटोल बस्दै आएका ३४ वर्षीय गणेश कुमार महतो, २२ वर्षीय चन्द्रकिशोर सिंह कुशवाहा र २२ वर्षीय विजय कुमार महतो रहेका छन् ।
सिरहाको सुखीपुर नगरपालिका ९ बैशाखा घर भई हाल सर्लाहीको मलंगवा नगरपालिका १० मा डेरा गरी बस्दै आएका ३६ वर्षीय सब–इन्जिनियर यादवमाथि मिति २०८२ फागुन ३ गते राति करिब ७ः५५ बजे गोली प्रहार भएको थियो ।
जिल्ला पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत यादवलाई फोन गरेर डेराबाट बाहिर बोलाइ गोली हानिएको थियो । घाइते अवस्थामा प्रादेशिक अस्पताल मलंगवा पुर्याइए पनि उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । पोस्टमार्टम रिपोर्टअनुसार उनको मृत्यु छातीमा लागेको गोलीको कारण भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए ।

डिएसपी राईका अनुसार गणेश महतो प्रदेश लोक सेवा आयोग, मधेश प्रदेशको सब–इन्जिनियर पदमा एक मात्र वैकल्पिक उम्मेदवार थिए । मुख्य सिफारिसमा परेका प्रमोद यादवको नियुक्ति भएको एक वर्षभित्र पद रिक्त भए आफूले स्थायी जागिर पाउने आशयले योजनाबद्ध हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार उनले आफ्नो नाता पर्ने साला चन्द्रकिशोर र भाई विजयलाई प्रयोग गरी योजना बनाएका थिए । विजय महतोले ८० हजार रुपैयाँमा हतियार खरिद गरी उपलब्ध गराएको प्रारम्भिक बयानमा खुलेको छ ।
प्रहरी अनुसन्धान अनुसार गणेश महतोले आफूलाई ‘राकेश यादव’ भनेर चिनाउँदै मृतकसँग सम्पर्क राख्दै आएका थिए । घटनाको दिन उनले व्हाटस एप कल गरी डेराबाट बाहिर बोलाए र बाहिर निस्कनेबित्तिकै पेस्तोलबाट गोली प्रहार गरे । त्यसपछि मोटरसाइकलमा फरार भएका उनीहरूले रौतहटको गढीमाई नगरपालिका क्षेत्रमा मोटरसाइकल छाडेका थिए ।

बीआर ०१ एफजेड १०८२ नम्बरको भारतीय मोटरसाइकल रौतहटबाट बरामद गरिएको छ । घटनास्थलबाट गोलीको खोका एक थान प्रयोग गरिएको पेस्तोल एक थान, भारतीय नम्बर प्लेटको मोटरसाइकल एक थान, मोबाइल फोन तीन थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

पेस्तोल यसअघि मलंगवा ४ स्थित निर्माणाधीन हनुमान मन्दिरमा बालकले फेला पारी खेलाउने क्रममा पड्किँदा एक बालक घाइते भएको घटनासँग समेत जोडिएको प्रहरीले जनाएको छ । फरेन्सिक परीक्षणपछि थप पुष्टि हुने बताइएको छ ।
पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अनुसार कर्तव्य ज्यान तथा हातहतियार खरखजाना सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।






