बारामा होली पर्व मनाउँदा विशेष सतर्कता अपनाउन प्रशासनको अपिल

सिमराः जिल्ला प्रशासन कार्यालय बाराले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै यस वर्षको फागु पूर्णिमा (होली) पर्वलाई मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन जिल्लाबासीलाई अपिल गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्वारा जारी सूचनामा निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्न आग्रह गर्दै यस पटकको होलीमा विशेष कडाइ गरिएको उल्लेख छ ।
निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक दलको चुनाव चिन्ह, उम्मेदवारको तस्विर वा प्रचार सामग्री अंकित टिसर्ट र लोगो प्रयोग गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।
प्रशासनले होली मनाउने बहानामा हुने उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गर्न कडा कदम चालेको छ । कसैको इच्छा विपरीत रङ दल्ने, लोला हान्ने, बाटो अवरोध गर्ने र सार्वजनिक स्थलमा भिडभाड हुने खालका कार्यक्रमहरू गर्न निषेध गरिएको छ ।
पर्वको नाममा मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने, चर्को आवाजमा डिजे बजाउने र आतिशबाजी गर्नेहरूलाई तत्काल पक्राउ गरी कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।
बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सम्भव भएसम्म घरपरिवार र नजिकका आफन्तहरूसँग मात्र होली मनाउन र ठूला सार्वजनिक जमघटबाट टाढा रहन प्रशासनले आग्रह गरेको छ ।
स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम राख्न जिल्लाभर सुरक्षाकर्मीको परिचालन बढाएको र नियम उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुन तथा निर्वाचन सम्बन्धी कानुन बमोजिम कडा कारबाही गरिने जनाएको छ ।







