रौतहटमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रियः बोराभित्र माटो फेला


eShilalekh

१८ फाल्गुन २०८२, सोमबार १२:२९

रौतहटः रौतहटको राजपुर नगरपालिका ५ स्थित पानी टंकी नजिकैको सडकमा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा निष्क्रिय पारेको छ ।

राजपुरबाट अकोलवा जाने भित्री पक्की सडकखण्डको बीच भागमा फलामको ड्रमभित्र पहेँलो रङको प्लास्टिकको बोरामा राखिएको अवस्थामा उक्त वस्तु फेला परेको थियो ।

शंकास्पद वस्तु देखिएको सूचना प्राप्त हुनासाथ सुरक्षा निकायको संयुक्त टोलीले उक्त क्षेत्रलाई तत्काल घेराबन्दी (कर्डन) गरी सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

सेनाको टोलीले उक्त वस्तुलाई बम हुनसक्ने आशंकामा निष्क्रिय पारेको भए तापनि पछि जाँच गर्दा बोराभित्र माटो मात्रै रहेको पाइएको नेपाली सेनाले पुष्टि गरेको छ ।

जिल्लाको सुरक्षा अवस्थालाई सुदृढ बनाउन गौरस्थित नारायणदल गणले विशेष तयारी गरेको जनाएको छ । गणका अनुसार हाल प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा बम डिस्पोजल टोली तैनाथ गरिएको छ भने राजमार्ग सुरक्षाका लागि समेत छुट्टै टोलीलाई तयारी अवस्थामा राखिएको छ ।

कुनै पनि स्थानमा शंकास्पद वस्तु फेला परेको जानकारी प्राप्त भएको १० देखि ३० मिनेटभित्रै घटनास्थलमा पुग्न सक्ने गरी सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको समेत सेनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्