सर्लाहीमा मतदान अधिकृतको हृदयघातबाट मृत्यु

सर्लाहीः सर्लाही क्षेत्र नम्बर २ स्थित पर्सा गाउँपालिका ४ जिङ्गडवामा खटिएका मतदान अधिकृत रघुनाथ महतोको हृदयघातका कारण मृत्यु भएको छ ।
आधारभूत विद्यालय जिङ्गडवा (क) मतदान केन्द्रमा खटिएका महतो मङ्गलवार दिउँसो केन्द्रमा पुगेलगत्तै एक्कासि बेहोस भएर ढलेका थिए । उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको थियो । तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए ।
प्रादेशिक अस्पतालका हेल्थ असिस्टेन्ट शङ्करकुमार पटेलका अनुसार महतोको मृत्युको कारण हृदयघात (हार्ट अट्याक) देखिएको छ ।
रौतहट स्थायी घर भएका महतो बरहथवा नगरपालिका १ हजारियास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सिनियर अहेबको रूपमा कार्यरत थिए । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उनी मतदान अधिकृतको जिम्मेवारी सम्हाल्न जिङ्गडवा पुगेका थिए ।
सहायक मतदान अधिकृत गोविन्द पोखरेलका अनुसार महतोले मङ्गलवार सर्वदलीय बैठक राख्ने तयारी गरेका थिए र अन्य कर्मचारीलाई बुधवार बिहान आउन भनेका थिए । तर उनको असामयिक निधनपछि टोली मङ्गलवार नै मतदान केन्द्रमा पुगेर काम अघि बढाएको छ ।
मतदान अधिकृतको मृत्यु भएपछि निर्वाचन कार्य प्रभावित हुन नदिन मुख्य निर्वाचन अधिकृत थपलियाले नयाँ मतदान अधिकृत पठाउने तयारी भइरहेको बताएका छन् ।
हाल उक्त केन्द्रमा सहायक मतदान अधिकृत पोखरेलको नेतृत्वमा मतदान केन्द्र निर्माण र अन्य तयारीका कामहरू सुचारु राखिएको छ ।






