कलैयामा आगलागी हुँदा लाखौँको क्षति

सिमराः कलैया उपमहानगरपालिका १० निलकण्ठवास्थित गोठालो क्षेत्रमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ । स्थानीय उजेर हुसेन मन्सुरीको घरमा अचानक सल्किएको आगोले घर पूर्णरूपमा जलेर नष्ट भएको हो ।
आगलागीका कारण घरभित्र रहेका लत्ताकपडा, अन्नबाली तथा अन्य सम्पूर्ण घरेलु सामग्रीहरू जलेर खरानी भएको स्थानीयले बताएका छन् । पीडित परिवारका अनुसार उक्त आगलागीबाट करिब एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
छिमेकी र स्थानीयवासीको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको स्पष्ट कारण हालसम्म खुल्न नसकेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






