बारामा साढे ६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, कडा सुरक्षा घेराभित्र निर्वाचन


eShilalekh

१९ फाल्गुन २०८२, मंगलवार १७:२९

सिमराः फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन बारा जिल्लामा साढे ६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। चार वटै निर्वाचन क्षेत्रका पाँच सय ८७ मतदान केन्द्र र समग्र सुरक्षाका लागि साढे ६ हजार सुरक्षाकर्मी परिचालन भएका हुन् ।

बाराका पाँच सय ८७ मतदान केन्द्रमध्ये एक सय ४५ अति संवेदनशील, एक सय आठ संवेदनशील र ५२ केन्द्रलाई सामान्य अवस्थामा राखिएको छ । सोही अनुसार सुरक्षा रणनीति बनाएर सुरक्षाकर्मी परिचालन गरिएको हो ।

जिल्लामा करिब एक हजार ६ सय नेपाल प्रहरी, एक हजार दुई सय सशस्त्र प्रहरी, आठ सय नेपाली सेना, ३५ जना राष्ट्रिय अनुसन्धानका कर्मचारी र तीन हजार ३६ जना निर्वाचन प्रहरी खटिएका छन्। मतदान केन्द्र, संवेदनशील क्षेत्र, मुख्य चोक र नाका लक्षित गर्दै नियमित गस्ती, निगरानी र चेकजाँचलाई तीव्रता दिइएको बाराका प्रहरी प्रवक्ता बिजयराज पण्डितले जानकारी दिएका छन् ।

बाराको १६ स्थानीय तहमा रहेका तीन सय पाँच मतदानस्थल अन्तर्गतका सबै पाँच सय ८७ मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी सोमबार नै पुगेका छन्। मतदान केन्द्रमा पुगेका कर्मचारीले बुधबारसम्म बुथ निर्माण गर्नेछन् । तराईमा बुधबार होली मनाईने हुँदा कतिपय मतदान केन्द्रमा मंगलबार नै बुथ बनाउन थालिएको छ ।

निर्वाचनका लागि नेपाल-भारत सीमा नाका पनि सोमबार राति १२ बजेदेखि बिहीबार राति १२ बजेसम्म बन्द गरिएको छ। सीमावर्ती क्षेत्रमा थप सुरक्षा सतर्कता अपनाइएको छ। यसैबीच निर्वाचनका लागि ५८७ मतदान अधिकृतसहित ३ हजार ५ सय ५० भन्दा बढी कर्मचारी परिचालन गरिएको छ।

यो पनि पढ्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्