पर्सामा नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद


eShilalekh

२० फाल्गुन २०८२, बुधबार ०९:२०

वीरगन्ज: नेपाली कम्युनिस्ट पार्टीका पर्सा क्षेत्र नं. २ का उम्मेदवार मनोजकुमार चौधरी पक्राउ परेका छन् । चौधरी सवार गाडीबाट बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार पर्सागढी नगरपालिका-२ बडनिहारस्थित चोकमा नियमित चेकजाँचका क्रममा चौधरी सवार बा१०च १२५० नम्बरको रातो कारबाट चार पोका शंकास्पद वस्तु भेटिएको हो । प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले चेकजाँच गर्दा उक्त वस्तु फेला पारेको प्रहरीले जनाएको छ। भेटिएको वस्तुलाई नेपाली सेनाको टोलीले सुरक्षित रूपमा डिस्पोज गरिसकेको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए।

घटनामा उम्मेदवार चौधरीसहित सत्यनारायण दास, सुरज कार्की र चालक गरी चार जनालाई नियन्त्रणमा लिइएको छ। गाडी नेपाली सेनाको नियन्त्रणमा राखिएको छ भने पक्राउ परेकाहरूलाई प्रहरी निगरानीमा राखी थप अनुसन्धान भइरहेको छ। घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्