बारामा सुरक्षा व्यवस्था कडा, नेपाली सेनाद्वारा हेलिकप्टरबाट हवाई गस्ती


eShilalekh

२१ फाल्गुन २०८२, बिहीबार १३:०७

सिमराः प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहिबार भइरहेको मतदानलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन बाराको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

मतदान प्रक्रियाको संवेदनशीलतालाई दृष्टिगत गर्दै नेपाली सेनाले जिल्लाभर हेलिकप्टरमार्फत हवाई गस्ती सुरु गरेको छ ।

बाराका चारवटै निर्वाचन क्षेत्रमा रहेका तिन सय पाँच मतदान स्थल र पाँच सय ८७ मतदान केन्द्रको सुरक्षा निगरानीका लागि सेनाले आकाशबाट गस्ती गरिरहेको सुरक्षा स्रोतले जनाएको छ ।

विशेष गरी सीमावर्ती क्षेत्र र सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएका केन्द्रहरूमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन हवाई गस्तीमार्फत उच्च सतर्कता अपनाइएको छ ।

मतदानलाई भयरहित बनाउन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिनुका साथै आकाशबाट पनि कडा निगरानी गरिएपछि मतदाताहरू ढुक्क भएर मतदानमा सहभागी भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्