माछा मार्न गएका युवकको पोखरीमा डुबेर मृत्यु


eShilalekh

२६ फाल्गुन २०८२, मंगलवार १६:४८

सप्तरीः सप्तरीको राजविराज नगरपालिका ३ स्थित कल्टु दास पोखरीमा मंगलबार बिहान माछा मार्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका ४ का २५ वर्षीय गजेन्द्र दास (बौवा) रहेका छन्। ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार माछा मार्न पोखरीमा पसेका दासको डुबेर घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीयका अनुसार दुई पटकसम्म माछा मारेर बाहिर निस्किएका दास तेस्रो पटक पोखरीमा पस्दा अचानक डुबेका थिए ।घटनाको जानकारी पाएलगत्तै उद्धारका लागि नेपाली सेनाको बरख गण, सशस्त्र प्रहरी र नेपाल प्रहरीको गोताखोर टोली परिचालन गरिएको थियो ।

सुरक्षाकर्मीहरूको टोलीले करिब चार घण्टाको निरन्तर प्रयासपछि दासको शव पोखरीबाट बाहिर निकालेको बरख गणका गणपति प्रमुख सेनानी सोभितबहादुर चन्दले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ भने घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्