निर्वाचन प्रहरीलाई फागुन २८ गते सम्मानसहित बिदाइ गरिँदै


eShilalekh

२७ फाल्गुन २०८२, बुधबार १२:३८

सिमराः हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीहरूको कार्यअवधि पूरा भएपछि आगामी फागुन २८ गते उनीहरूलाई एक कार्यक्रमका बीच बिदाइ गरिने भएको छ ।

गत फागुन २१ गते शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भई मतगणनाको नतिजा समेत सार्वजनिक भइसकेको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैले आफ्ना मातहतका निर्वाचन प्रहरीलाई बिदाइ गर्ने तयारी गरेका छन् ।

४० दिनको कार्यअवधि तोकेर भर्ना गरिएका सुरक्षाकर्मीहरूलाई नेपाल प्रहरीले देशभरका विभिन्न मतदान केन्द्र र सुरक्षा चौकीहरूमा परिचालन गरेको थियो ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी अवि नारायण काफ्लेका अनुसार निर्वाचनलाई भयरहित र व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका खेलेका एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरीलाई धन्यवाद पत्रसहित सम्मानपूर्वक बिदाइ गरिनेछ ।

यसैगरी सशस्त्र प्रहरी बलले पनि आफ्नो सुरक्षा संयन्त्रमा सहभागी गराएका १५ हजार एक सय १० जना निर्वाचन प्रहरीलाई सोही दिन बिदाइ गर्ने भएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विष्णु प्रसाद भट्टले निर्वाचन सुरक्षामा खटिएका जनशक्तिलाई आउने बिहीबार (फागुन २८) बिदाइ गरिने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्