दलित टोलमा सामूहिक आक्रमण: ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा, एक पक्राउ


eShilalekh

२७ फाल्गुन २०८२, बुधबार १८:००

रौतहट: रौतहटको फतुवा विजयपुर नगरपालिका ५ सन्तपुरस्थित दलित टोलमा दुई महिलासहित ६ जनामाथि भएको सामूहिक आक्रमणको घटनामा प्रहरीले आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ।

फागुन १९ गते भएको घटनामा पीडित बिर्जाराम चमारको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालको निर्देशनपछि इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाले बुधबार आठ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो।

प्रहरीका अनुसार दलित परिवारमाथि सामूहिक रूपमा आक्रमण गरेको आरोपमा पसिन्द्र यादवलाई पक्राउ गरिएको छ। उनलाई हाल इलाका प्रहरी कार्यालय विजयपुरको हिरासतमा राखिएको छ।

घटनामा संलग्न रहेको आरोप लागेका अन्य सात जना भने फरार रहेका छन्। उक्त घटनामा दलित टोलका एकै परिवारका दुई महिलासहित ६ जना घाइते भएका थिए। स्थानीयका अनुसार सामान्य विवादबाट सुरु भएको झगडा पछि सामूहिक आक्रमणमा परिणत भएको थियो।

प्रहरीले फरार रहेका अन्य आरोपीहरूको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्