अत्याधुनिक प्लास्टिक प्रशोधन प्लान्ट सञ्चालनको अन्तिम तयारीमा


eShilalekh

२८ फाल्गुन २०८२, बिहीबार १४:०२

वीरगन्जः औद्योगिक नगरी वीरगन्जले फोहोर व्यवस्थापनमा एक ऐतिहासिक फड्को मार्ने तयारी गरेको छ ।

महानगरपालिकाको डम्पिङ साइटमा निर्माण भइरहेको अत्याधुनिक प्लास्टिकजन्य फोहोर प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेसँगै अब वीरगन्जको फोहोर ‘समस्या’ मात्र नरहेर ‘स्रोत’ का रूपमा रूपान्तरण हुने भएको छ ।

महानगरलाई स्वच्छ, हरित र प्रदूषणमुक्त बनाउने दीर्घकालीन लक्ष्यअनुरूप अघि बढाइएको यो परियोजनाले दैनिक संकलन हुने करिब ६०–६५ टन फोहोरमध्ये २० मेट्रिकटन प्लास्टिकजन्य फोहोरलाई वैज्ञानिक ढंगले प्रशोधन गरी पुनः प्रयोगयोग्य बनाउने क्षमता राख्दछ । यो महत्वाकांक्षी परियोजना सार्वजनिक–निजी साझेदारीको एक उत्कृष्ट नमुनासमेत बनेको छ ।

सूर्य नेपाल प्रा.लि.को करिब चार करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको यस प्लान्टका लागि वीरगन्ज महानगरपालिका, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्य नेपालबीच त्रिपक्षीय सम्झौता भएको थियो ।

गत बुधबार महानगर प्रमुख राजेशमान सिंह र सूर्य नेपालका उद्योग प्रमुख सुरेश काजी महर्जनसहितको टोलीले निर्माण स्थलको निरीक्षण गर्दै प्राविधिक पक्ष र सञ्चालन प्रक्रियाबारे जानकारी लिएका थिए ।

निर्माण सम्पन्न भएपछि प्लान्ट महानगरलाई हस्तान्तरण गरिनेछ भने यसको प्राविधिक व्यवस्थापन जिरो वेस्ट इनिसिएटिभ नेपालले सम्हाल्ने गरी कार्यविभाजन गरिएको छ ।

सूर्य नेपाल प्रा.लि.का उद्योग प्रमुख सुरेश काजी महर्जनले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त परियोजनामा लगानी गरेको बताए । उहाँका अनुसार उद्योगले नाफामुखी व्यापारसँगै समाज र वातावरणप्रति उत्तरदायी रहने प्रतिबद्धताका साथ यो परियोजनामा सहकार्य गरेको हो ।

प्लान्ट सञ्चालनमा आएपछि प्लास्टिकजन्य प्रदूषणमा उल्लेख्य कमी आउने, डम्पिङ साइटको आयु बढ्ने र शहरको सुन्दरतामा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ ।

वैज्ञानिक वर्गीकरण र आधुनिक प्रशोधन पद्धतिमार्फत वीरगन्जले अब फोहोर व्यवस्थापनमा मुलुककै लागि उदाहरणीय मोडेल प्रस्तुत गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्