बारामा कुष्ठरोग सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न


eShilalekh

२९ फाल्गुन २०८२, शुक्रबार १२:१९

सिमराः बारामा सरोकारवाला निकाय र सञ्चारकर्मीहरूलाई लक्षित गर्दै कुष्ठरोग सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

द लेप्रोसी मिसन नेपालको आयोजनामा स्वास्थ्य तालिम केन्द्र पथलैयाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कुष्ठरोगको पहिचान, उपचार र रोकथामका उपायबारे छलफल गरिएको थियो ।

द लेप्रोसी मिसन नेपालका प्रोजेक्ट म्यानेजर एवम् कार्यक्रमका प्रशिक्षक अमजद अली मिकरानीले कुष्ठरोग कुनै दैवी श्राप नभई जीवाणुबाट सर्ने र पूर्ण रूपमा उपचारयोग्य रोग भएको बताए ।

उहाँले छालामा संवेदना कम हुनु, दाग देखिनु वा हातखुट्टा झमझम गर्ने जस्ता लक्षण देखिनासाथ स्वास्थ्य संस्था जान आग्रह गर्दै रोग लुकाउने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

तथ्यांकमा बाराको अवस्था र चुनौती

कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार बारामा कुष्ठरोगको अवस्था अझै चुनौतीपूर्ण देखिएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को माघ महिनासम्म जिल्लामा ४४ जना नयाँ बिरामी फेला परेका छन् । जसमध्ये चार जना १४ वर्षमुनिका बालबालिका रहेका छन् ।

गत आर्थिक वर्षमा जिल्लाभर एक सय ३७ जना नयाँ बिरामी भेटिएका थिए । स्थानीय तहगत रूपमा हेर्दा जीतपुरसिमरा उपमहानगरपालिकामा मात्रै १३ जना नयाँ बिरामी भेटिएकाले यस क्षेत्रमा थप लक्षित कार्यक्रमको आवश्यकता औंल्याइएको छ ।

स्वास्थ्य कार्यालय बाराका प्रमुख चेतराज पण्डितले सक्रिय खोजपड्तालका कारण बिरामीहरू समयमै सम्पर्कमा आएको र उनीहरूमा जटिलता देखिन नपाएको जानकारी दिए ।

आगामी योजना र सहकार्य

कुष्ठरोग निवारणका लागि आगामी चैत्र ४ गते कलैयामा निःशुल्क परीक्षण तथा उपचार शिविर सञ्चालन गरिने जानकारी दिइएको छ । आयोजकले यस्ता शिविरहरू प्रत्येक दुई महिनामा आयोजना गर्ने लक्ष्य राखेका छन् ।

कार्यक्रममा जीतपुरसिमराका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले दिगो विकास लक्ष्य २०३० हासिल गर्न क्षयरोग र कुष्ठरोग निवारणमा सबैको सहकार्य जरुरी रहेको बताए ।

कार्यक्रममा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रवि कुमार भाष्कर, द लेप्रोसी मिसन नेपालकी प्रोजेक्ट म्यानेजर सीता बिष्ट, बारा जिल्ला फोकल पर्सन दिपेश यादवलगायत विभिन्न संघसंस्था तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्